साताको पहिलो दिन उच्च अंकले उछाल आएको सेयर बजारमा दोस्रो दिन झिनो अंकको बृद्धि
२१,माघ–काठमाडौं । सोमबार सेयर बजार अघिल्लो दिनको तुलनामा २.४१ अंक बृद्धि भएको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७३० मा उक्लिएको छ । दिउँसो १२ बजे २७६३ अंकसम्म पुगेको बजारमा सोही वृद्धि खुम्चदै २७३० विन्दुमा झरेको हो । बजार सामान्य अंकमा बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १२ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ८७ करोडको कारोवार भएको हो ।
९७ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने ८ को स्थिर रह्यो । सेक्टरका सूचकमा मिश्रित उतारचढाव देखिएको छ । बैंकिङ ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७,माइक्रोफाइनान्स ०.१०, निर्जीवन बीमा ०.८० र व्यापार ०.७९ प्रतिशत बढेका छन् । अन्य ०.६०, लगानी ०.४७, हाइड्रोपावर ०.४८, होटल तथा पर्यटन ०.०१, फाइनान्स १.०७ र विकास बैंक समूह ०.३९ प्रतिशत घटे ।
सोमबार पहिलो एक घण्टा लगानीकर्ताको आकर्षणमा बैंकिङ सेक्टर परेको थियो । एक घण्टामै सो सेक्टर २.११ प्रतिशत बढेको थियो, अन्तिमसम्म सोही वृद्धि टिकेन । आज उपकार लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ८.७४, सामुदायिक लघुवित्तको ७.८४, सामलिङ पावरको ६.८ प्रतिशत मूल्य बढ्यो ।
ग्रीन डेभलपमेन्ट बैंक र रिभरफल्स पावरको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, बरुण हाइड्रोपावर, साहस ऊर्जा र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे । केही दिनको तुलनामा भोलुमसँगै नेप्से परिसुचक पनि बढेकोले लगानीकर्ता आत्मविश्वा बढेको देख्न सकिन्छ ।

