बुधबारदेखि फेरि मौसम बदली हुने, देशभर बर्षा र बाढीपहिरोको सम्भावना हुने भएकोले सर्तकता अपनाउन आग्रह
१५,असोज–मंगलबार । बुधबारदेखि फेरि दुई दिन लगातार बर्षा हुने भएको छ । यसको ठूलो प्रभाव पूर्वी नेपालमा पर्ने मौसम विदले जनाएको छ । वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा लगातार झरी हुने नभई रोकिँदै पर्दै गर्ने सम्भावना छ ।
असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाले जमिन कमजोर भएकाले अहिलेको मध्यम खालको वर्षाले फेरि पहिरो झर्ने सम्भावना रहेकोले यात्रा गर्दा सर्तकता अपनाउन पनि मौसम विदले सुझाव दिएको छ । बुधबारदेखि सुरु हुने वर्षाबारे युरोपियन, चाइनिज र इण्डिन मोडेलले फरक–फरक सम्भावना देखाएका छन् । ती तीनवटै मोडेलबाट हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने साझा निष्कर्ष निकाल्न सकिन्छ । चाइनाको मोडेलले हल्का खालको वर्षा हुने सम्भावना देखाएको छ ।
युरोपियन मोडेलले भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखाएको छ । भारत मौसम विज्ञान विभागले आसाम, मेघालयतिर भारी वर्षा भइरहेको देखाएको छ । इण्डियन स्याटेलाइट तस्वीरमा कोशी प्रदेशमा बादलको ठूलो ढिक्का आइसकेको देखिन्छ । यसको अर्थ कोशी प्रदेशमा आजैदेखि वर्षाको प्रभाव देखिन थालिसकेको छ । यसको प्रभाव काठमाडौं उपत्यकामा पनि आज अपराह्न पछि पनि देखिनसक्ने सम्भावना छ ।
नेपालका मौसमविद के भन्छन् ?
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले यो वर्षाले बुधबारदेखि कोशीदेखि गण्डकीसम्म प्रभाव पर्नसक्ने बताउँछन् । उनका अनुसार कोशी प्रदेशसहित पूर्वी नेपालमा बुधबार र बिहीबार लगातार झरी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशमा भने पानी पर्दै रोकिँदै गर्ने सम्भावना रहेको उनले बताए ।
उनका अनुसार यसपटक मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना छ । स्थानीय वायुको समेत प्रभावले केही स्थानमा भारी वर्षा पनि गराउने सम्भावना रहेको उनले बताए । यसैगरी हावापानीका अध्यता एवम् विपदविद डा. धर्मराज उप्रेतीले बुधबार यो प्रणालीको प्रभाव बढी देखिने बताए ।
उनका अनुसार काठमाडौं उपत्यकामा आजै अपराह्नपछि यसको असर देखिन सुरु हुने छ । तर सबैभन्दा बढी असर बुधबारको दिन पर्ने छ । उनले भने, ‘अघिल्लोपटक परेको भारी वर्षाले जमिन कमजोर भएकाले यसपटक हल्का पानी पर्दा पनि पहिरो झर्ने सम्भावना रहेकाले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ ।

