Logo

भिजिट भिसामा नक्कली कागजात बनाइ रुस पठाएर ठगी गर्ने एक महिला पक्राउ


फागुन,२२–काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा रुस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । लमजुङ दूधपोखरी गाउँपालिका–१ घर भई हाल जिल्ला काठमाडौँको टोखा नगरपालिका–११ बानियाँटार बस्ने ३० बिनिता गुरुङ पक्राउ परेकी हुन् । उनले एसएलसी फेल भएका भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि नक्कली कागजात आफै मिलाएर रसिया पठाइदिन्छु भन्दै ठगी गरेका थिए ।

गुरुङले भीमबहादुर बुढालाई अनेक प्रलोभनमा पारी पटक पटक गरी जम्मा रु.३ लाख ४६ हजार रुपैयाँ र १ हजार अमेरिकी डलर लिई ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनु भउनु भएको छ । गुरुङले सम्पूर्ण भिजिट भिसामा चाहिने सर्टिफिकेट लगायतका कागजातहरू आफैले बनाई दिएको प्रहरी स्रोतले बताएको छ । गुरुङले एक हजार डलर साटेको देखाई उक्त डलर बसपार्कबाट आफै लिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर बुढालाई रसिया पठाएकी थिइन् ।

तर रसिया पुगे पश्चात् बुढालाई एयरपोर्टबाटै नक्कली कागजात भएको भनी फिर्ता पठाइएको हो । नेपाल फर्किएपछि पीडित बुढाले वैदेशिक रोजगार विभाग निवेदन दिएका थिए । सोही निवेदनको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले ठगी गरी फरार रहेकी गुरुङलाई फागुन २१ गते बानियाँटारबाट पक्राउ गरेका थिए । अहिले उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्