Logo

चैत्र १ गतेबाट सहकारी पीडितहरुले फेरि आन्दोलन चर्काउने


फागुन १८–काठमाण्डौं । सरकारले आफूहरुसँग गरेको सहमतिबमोजिम आफूहरुको माग सम्बोधन नगरेको भन्दै फेरि सहकारी पीडितहरुले चैत्र १ गतेबाट आन्दोलन चर्काउने भएका छन् । सहकारी बचतकर्ता संरक्षण अभियान (महासंघ)का अध्यक्ष कुशलव केसीले चैत १ गतेदेखि सडक आन्दोलन गर्ने तयारी भइरहेको बताए । त्यसका लागि अहिले महासंघले काठमाडौं, ललितपुर, भक्तपुरल गायतका जिल्लामा घरदैलो कार्यक्रम पनि गरिरहेको छ ।

‘सरकारले चैत मसान्तसम्म सबै पीडितहरुको पैसा फिर्ता हुने वातावरण मिलाइदिन भन्दै (भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ)ले आश्वासन दिएपनि अहिले कुनै काँधछाध नदेखिएपछि फेरि आन्दोलनमा जानु परेको महासंघका अध्यक्ष केसीले बताउनु भएको छ । केसीले अबको आन्दोलन ‘निर्णायक’ हुने भएकाले माग पूरा नभएसम्म घर नफर्किने समेत जानकारी दिए । ‘त्यो दिन विभिन्न ५ वटा प्वाइन्ट तोकेर शान्तिपूर्ण पैदलयात्रा गर्दै सुन्धारा हुँदै भृकुटीमण्डप सम्म पुगेर कोण सभा गर्ने कार्यक्रम रहेको उनले बताए ।

त्यो बेला सम्म प्रधानमन्त्र आएर आफूहरुको माग सम्बोधन नगरेमा आफूहरु घर नफर्ने समेत उनले चेतावनी दिए । देशभरका सहकारी पीडितका प्रतिनिधि १३ दिनदेखि सहकारी विभागमा आफ्नो धर्ना पनि जारी राखेका छन् । सहकारीहरुले आफूहरुको बचत फिर्ता गर्न सक्ने अवस्था नरहेको सरकारलाई दबाब दिन धर्ना बस्नुपरेको गोपाल त्रिपाठीले सुनाए । यो भन्दा अगाडी पनि देशभरका सहकारी पीडितहरु हजारौंको संख्यामा उपस्थित भएर काठमाडौंमा २ महिना लामो आन्दोलन गरेका थिए ।

आन्दोलनको ६३औं दिनमा साउन १८ गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलगायत सरकारका प्रतिनिधिसँग ७ बुँदे सहमति गर्दै सहकारी पीडितले आन्दोलन स्थगन गरेका थिए । सहमतिपत्रमा चैत मसान्तभित्र सहकारीका बचतकर्ताहरुको बचत फिर्तालाई सुधार गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने, बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयन गर्ने उल्लेख थियो । तर त्यही सम्झौता अझै सम्म पन कार्यन्वयन नभएपछि फेरि सहकारी पीडितहरु आक्रोशमा आएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्