Logo

शनिबारबाट दशैका लागि अग्रिम टिकट बुकिङ खुल्ला


३१ ,भदौ – काठमाडौं । यो वर्षको दशैंका लागि आज शनिबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । विश्वकर्मा पूजाको अवसरमा अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरिएको यातायात विभागले जनाएको छ । तोकिएको भाडादर भन्दा बढी भाडा लिएको पाइएमा कारवाही गरिने पनि विभागले जनाएको छ । यस पटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने व्यावस्था मिलाइएको छ ।

बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जानकारी दिएको छ । अनलाइन टिकट बुकिङ गर्न पाउने व्यावस्था समेत गरिएको छ । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने सहमति भएको विभागका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए ।

अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गरिने डा. पाण्डले बताए । अनधिकृत काउन्टर र परिचय पत्र नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः निरुत्साहित गर्ने÷गराउने योजना पनि छ । मुख्य सडकलाई मर्मत÷सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सडक विभागलाई अनुरोध गरिएको डा. पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्