Logo

निषेधाज्ञा कडा बनाएसँगै खानेकुराको अभाव भएमा वडासँग समंवय गरेर राहत लिन प्रमुख जिल्ला अधिकारीको अपिल


१३,जेष्ठ–काठमाण्डौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा कडा बनाए पनि नागरिकले खानै नपाउने अवस्था आउँछ कि भनेर आत्तिनुनपर्ने बताएका छन् । बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्ने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले जेठ १४ देखि २० गतेसम्म निषेधाज्ञा कडा गरेपनि नागरिकलाई समस्या पर्न नदिने बताए ।

यदि खानेकुराको अभाव भएमा वडासँग समंवय गरेर राहत लिन समेत प्रमुख जिल्ला अधिकारीले अपिल गरेका छन् । आपत् विपत परे काठमाडौं महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालयमार्फत् त्यस्तो व्यक्तिहरुलाई राहत उपलब्ध गराउने प्रवन्ध पनि मिलाएका छौँ’ उनले भने, ‘कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन ।

ठाउँठाउँमा दाल, चामल उपलब्ध गराउने प्रबन्ध पनि गर्छौं । समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ नम्बरमा फोन गरेर समस्या राखे समाधान गरिने प्रजिअ पराजुलीले बताए । जुन नगरपालिकाका नागरिक त्यस्तो आपत् विपतमा पर्नुहुन्छ, उहाँहरुको सम्बन्धित वडा अध्यक्ष, नगरपालिकाको मेयरसित सम्पर्क राख्ने व्यवस्था गर्नुभयो भने यो समस्याबाट समाधान हुन्छ’ उनले भने ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा जेठ १४ देखि २० गतेसम्मको निषेधाज्ञामा किराना पसल पनि बन्द हुनेछन् । तर चामल, दाल किन्ने व्यवस्था मिलाउने प्रजिअ पराजुलीले बताए । कुनैपनि नागरिकलाई चामल किन्न, दाल किन्न पाइएन ।

हामी भोकले मर्ने स्थिति आयो भन्ने अवस्था सिर्जना हुन दिदैनौँ त्यस्तो भ्रममा नपर्न अनुरोध छ’ पराजुलीले भने । उनले कोरोना संक्रमणको दर बढेको कारण निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनसाय नराखेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्