Logo

सरकारद्वारा ३८१ जना योद्धालाई एकैचोटी सम्मान


 

१ वैशाख, काठमाडौं । सरकारले ३८१ जना योद्धालाई एकैचोटी सम्मान गरेको छ । २०६२–६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्रका योद्धाको रुपमा सरकारले सम्मान गरेको हो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरेका हुन् । प्रधानमन्त्रीलाई गाह्रो भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले खादा लगाइदिए भने उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मानपत्र दिए ।

२०६२–६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थलाई भने काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दोसल्ला र प्रमाणपत्र प्रदान गरे । त्यसको लाइभ भिडियोबाट प्रधानमन्त्री ओलीले लोकतन्त्रका योद्धाका रूपमा सम्मान गरे ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले योद्धालाई सम्मानको शुरुवात मात्रै गरिएको र ७७ वटै जिल्लामा सम्मानित गरिने जानकारी दिए । उनी लोकतन्त्रका योद्धा अभिलेखिकरण तथा सम्मान समितिका संयोजक पनि हुन् ।

जिल्लामा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति’ गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्