Logo

सरकार र डाक्टर गोविन्द केसी पक्षबीच वार्ता आज


कलाखबर संवाददाता,२२ असोज– सरकार र डाक्टर गोविन्द केसी पक्षबीच आज वार्ता हुने भएको छ ।

हिजो दुवैपक्षले वार्ता टोली गठन गरेलगत्तै आज छलफलमा बस्ने तयारी भएको हो । तर समय भने तय भइसकेको छैन। सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले आफू दिउँसो २ देखि ४ बजेसम्म हुने सार्क मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसपछि बैठक बस्ने योजनामा रहेको बताउनुभयो ।

डाक्टर केसी पक्षका संयोजक डाक्टर जीवन क्षेत्रीले जतिसक्दो छिटो छलफलमा बस्न सरकारलाई आग्रह गरिएको बताउनुभयो । डाक्टर केसीसँग वार्ताको लागि सरकारले शिक्षा सचिव मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा सदस्य रहेको टोली गठन गरेको हो ।

यस्तै डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डाक्टर अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेको टोली गठन भएको छ ।

डाक्टर केसी अनसनमा बसेको आज २५ दिन पुगिसकेको छ । उहाँको स्वास्थ्यमा निकै समस्या आउन थालेकाले तत्काल आईसीयूमा सार्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर डाक्टर केसीले आईसीयूमा जान अस्वीकार गर्नुभएको छ । चिकित्सा शिक्षा सुधारका विषयमा विभिन्न ६ बुँदे माग राख्दै डाक्टर केसी १९ औं पटक अनसन बस्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस्