Logo

सुर्खेत जिल्लाको अमरज्योति माध्यमिक विद्यालयमा पठनपाठन सुरु,बिद्यार्थीहरु बीचमा सामाजिक दुरी कायम


कलाखबर संवाददाता,७ असार –वीरेन्द्रनगर ,सुरर्खेत । सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ । लामो समय सम्म भएको लकडाउन केही खुकुलो भएसँगै आफूहरूले सामाजिक दुरी कायम गरेर पठन पाठन सुरु गरेको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए । विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सामाजिक दुरी कायम गरी पढाइ सुरु गरिएको प्रधानाध्यापक थापाले बताउनु भयो । सबै विद्यार्थीलाई मास्क अनिवार्य र प्रवेश गर्दा गेटमै सेनिटाइजर तथा हात धुने व्यवस्था गरिएको छ ।

७० जना क्षमताको कक्षा कोठामा विद्यालयले आइतबार कक्षा ७ का २० जना विद्यार्थीलाई स्वास्थ्य सावधानीका साथ दुरी कायम गरी पढाएको थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशिकामा रहेर दैनिक बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा सबै कक्षा सञ्चालन गर्ने तयारी गरेको पनि प्रध्यानाध्यापक थापाले जानकारी दिनु भयो । सबै विद्यार्थीलाई पालैपालो विद्यालयमा उपस्थित गराएर पढाउने विचारमा रहेको प्रधानाध्यापक थापाको भनाई थियो ।

उनका अनुसार एउटा बेन्चमा एक जना र करिब दुई मिटरको दुरी हुने गरी विद्यार्थीलाई बस्ने व्यवस्था गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण गत चैत ११ देखि देशव्यापी लकडाउन भएपछि बन्द रहेका शैक्षिक संस्था अझै खुलेका छैनन् । तर सरकारले असार १ देखि वैकल्पिक सिकाइका लागि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरिए पनि प्रभावकारी हुन सकेको छैन । प्रधानाध्यापक थापाका अनुसार अत्यधिक कोरोना संक्रमित भएको जिल्ला दैलेखलगायतका विद्यार्थीलाई भने विद्यालयमा प्रवेश निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्