Logo

रुकुम घटनामा पीडितको आँशुमाथी युटयूबरहरुको दिपावली


राज कुमार राई ,२३ जेठ –काठमाण्डौं । चाहे घटना सानो होस् या ठूलो होस् यसलाई ठूलो विषय बनाएर युटयूबरहरुले दशै तिहार आएजस्तै रमाउने गर्छन् । अहिले रुकुम घटना त्यस्तै भएको छ । युटयूबरहरु तछाडमछाड छन् । उनीहरु आफैले आफैलाई पत्रकार घोषणा गर्छन् । आफैले प्रहरीको काम पनि गर्छन्,वकिलको काम पनि गर्छन् । अनि फैसला पनि आफैले नै गर्छन् । युटयूबरहरुले समाचारको सुत्र थाहा नै हुदैन तर उनीहरु आफ्नै सुत्र प्रयोग गर्छन् । सुरुमा युटयूबरहरुले पीडितलाई सम्झाउछन् अनि लामो पृष्ठभूमी बाध्छन् त्यसपछि शोकाकूल परिवारका सदस्यहरुको मुहारमा क्यामेरा तेस्याउ छन् ।

अनि छिमेकी तथा पीडितलाई भेला गरेर जवरजस्ती बोल्न बाध्य बनाउछन् । आफन्त गुमाएका तथा कुनै प्राकृतिक प्रकोपबाट धन सम्पत्ति गुमाएर रन्थनीएका पीडितहरुको निको भईसकेको घाउ कोट्याउदै आँखाबाट जबरजस्ती आँशु झार्न यूटयूबरहरुले बाध्य गराउछन् । पहिला रबि लामीेछाने कण्ड तथा निर्मला बलत्कार काण्डमा पनि युटयूबरहरु खुबै रमाएका थिए । पछि फेरि पूण्य गौतम र हेमा श्रेष्ठको काण्डमा पनि यूटयूबरहरु ताती नै लागेका थिए । आत्मा हत्या,बलत्कार,आगलागी तथा कुनै दुर्घटना हुने वित्तिकै युटयूबरहरु प्रहरी भन्दा अगाडी नै फैसला गर्न पुगि हाल्छन् ।

अहिले रुकुमको नवराज काण्ड त्यस्तै भएको छ । रुकुम पश्चिम नरसंहार काण्डका भिडियो खिचेर युट्युबबाट पैसा कमाउन देशैभरका युट्युबर यतिबेला तँछाडमछाड गरिरहेका छन् । जसलाई पीडितहरुको दुःख बेदनामाथि कुनै मतलब छैन । उनीहरुको मात्र आँशु र संवेदनामाथि भिडियो बनाएर डलर झार्न उद्धत छन् । रुकुम र जाजरकोटको घटनास्थललाई अहिले युट्युबरले छपक्कै छोपेका छन् । त्यहाँको दृश्य हेर्दा लाग्छ शोकाकुल परिवारका लागि निम्तिएको यो दशाले युट्युबरलाई जेठमै दशैँ आएको छ ।

युट्युबरलाई अन्तरवार्ता दिएर आजित हैरान भएका रुकुम पश्चिम र जाजरकोटका स्थानीय अहिले कुनै रेडियो, टेलिभिजन र पत्रिकाका वास्तविक सञ्चारकर्मी रिर्पोटिङ गर्न पुग्दा बोल्नै रुचाउँदैनन् । यूटयूबकार र साँच्चीकैको पत्रकार चिन्न नसक्दा गाँउका सोझासादाहरु अलमलमा परेका छन् । यूटयूबरहरु गाउँका कुना कुनामा छिर्छन अनि आफैले आफैलाई मिडियाकर्मी साबित गर्दै सोझासादासँग अन्तरवार्ता लिन्छन् । सबैलाई भ्रम र जुक्याउने किसिमको शीर्षक राखेर सामाग्री प्रस्तुत गर्छन ।

त्यो सामाग्रीले कसैको जीवनमा आँच पुग्यो भने फेरि काम गर्ने कालु मकै खाने भालु भने जस्तै साँच्चिकैको मिडियाकर्मी माथी गाली आउछ । साच्चीकैको मिडियाकर्मी बन्नका लागि जसरी शिक्षक, ईन्जियर,पाइलट र डाक्टरको लागि लाइसेन्स चाहिन्छ त्यस्तै गरि वास्तकि पत्रकार बन्नका लागि आधिकारिक्ता चाहिन्छ । त्यो भनेको प्रमाणपत्र हो, उसले पत्रकारिता पढेर हासिल गरेको सर्टिफिकेट हो । तर यूटयूबरहरुको प्रमाणपत्र सरकारले माग्ने हो भने अधिकांशको एजुकेशन, म्यानेजमेन र पर्यटन तथा म्यूजिक सेक्टर अध्ययन गरेको भेटिन्छ ।

अनि यस्ताहरुलाई यूटयूबकार भन्ने की ?प्रत्रकार भन्ने ? प्रश्न यहाँनिर छ । एउटा एजुकेशन बिषय पढेको मान्छेले जहाज उडाउन खोज्यो भने के हुन्छ ? जसको परिणाम हो अवश्य पनि दुर्घटमा हुन्छ । अहिले मिडिया क्षेत्रमा पनि त्यही नै भएको छ । एउटा बुम र क्यामेराको भरमा अन्धाधुन्द बीना लाइसेन्स बीना सुत्र बोल्दैमा मिडियाकर्मी अर्थात पत्रकार हुन सकिदैन । अहिले रुकुममा नवराज विकको परिवार शोकमा डुबेको छ । आँखाबाट आँशु बग्दा बग्दा आँखा नै सुक्खा भइसकेको छ ।

तर यूटयूबरहरुले भने बारम्बार शीर्षक बाङ्गोटिङ्गो राख्दै एउटै कुरा दोहोर्याउदै यसको मजाक लिई रहेका छन् । शब जलिरहँदा पीडाले आहत भएका मृतक नवराजका बाबुलाई पनि युट्युबरको समूहले बोल्न बाध्य बनाए । छोराको शब जल्दा तपाईंलाई कस्तो लागेको छ ? जस्ता विभिन्न प्रश्न सोध्दै क्यामेरा र बुम उनको अनुहारमा सोझाएर केरकार गरिरहे । पालैपालो उनीहरु क्यामेरा र बुम तेस्र्याएर उनको दुखेको घाउ कोट्याइरहन्थे । उनीहरुले अन्तरवार्ता लिन मृतकका आफन्त बालबच्चादेखि बृद्धसम्म कसैलाई छोडेनन् । युट्युबर न प्रहरी हुन न अदालत नै ।

तर उनीहरु पुलिसले जस्तै केरकार गर्छन्, आफै न्यायाधिस बन्छन र फैसला पनि गरिदिन्छन्, पीडितको संवेदनामा खेल्छन् । भ्यूज नघटेसम्म पीडितहरुको घाउ कोट्याइरहन्छन् र भ्यूज घट्न थालेपछि आफ्नो बाटो लाग्छन् । नवराज विक र अन्य मृतकको परिवारले पनि आँशु खसाल्दै युट्युबरलाई पोख्नुसम्म पीडा पोखे । उनीहरुको यो बज्रपात युट्युबरका लागि बडादशैँ र रमाईलो तिहार जस्तै बन्यो । बिकको घरमा मलामी र आफन्तजन उम्काउनको भ्याइनभ्याइ नहुँदा समेत उनीहरुले पछ्याउन छोडेनन् । रुकुम र जाजरकोट पुगेका युट्युबरमात्र हैन घरको बन्द कोठामा बसेका युट्युबरले पनि घटना र पीडितको संवेदनामा खेलिरहेका छन् ।

एउटा च्यानलको शीर्षक थियो–‘बल्ल भयो रुकुम हत्या काण्डमा नयाँ खुलासा । प्रेमिका नबोल्नुको कारण यस्तो । सुन्दै जाँदानयाँ खुलासा त यस्तो पो रहेछ, प्रहरी हिरासतमा भएका कारण उनी मिडियामा आउन नसकेकी रहिछन् । के त्यही हो नयाँ खुलासा ? मानिसलाई झुक्काउने, ठग्ने र बेवकुफ बनाउने ? रुकुम घटनाको दोषी को हो भनेर काठमाडौँमा झाँक्रीसँग समेत अन्तरवार्ता लिएको भेटियो । झाँक्रीले नै दोषी पत्ता लगाउने भए किन चाहियो प्रहरी, किन चाहियो अदालत ?

केही पहिले भएको शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा युट्युबरले भ्रमित पार्न उनको आँखाको नानीमा हत्याराको दृश्य देखाएका थिए । रुकुम जाजरकोट घटनाबारे एकजमात नेपाली युटुवरहरुले अलिकति पनि मानवीयता, सामाजिक उत्तरदायित्व र संवेदनशिलता देखाएनन् । यो मात्र हैन उनीहरु हरेक घटनालाई यसरी नै लिन्छन् । जहाँ प्रहरीले अनुसन्धान गर्न थालेको हुँदैन, उनीहरु आफै पुलिस बनेर केरकार गर्छन्, न्यायाधीश बनेर युट्युबबाटै फैसला गर्छन, देश विदेशमा रहेका जनतालाई भ्रमित पारेर युट्युबबाट डलर झारेर बाटो लाग्छन् । यो अहिलेको यथार्थ कटु सत्य हो ।

प्रतिक्रिया दिनुहोस्