Logo

नेपाल एयरलाइन्सद्वारा आफ्ना पाइलट र एयरहोस्टेसको दोस्रो पटक तलब कटौती


कलाखबर संवाददाता,१० बैशाख –काठमाण्डौं । नेपाल एयरलाइन्सले दोस्रो पटक स्वदेशी तथा विदेशी पाइलटले पाउँदै आएको तलब कटौती गरेको छ । विदेशी पाइलटको ५० प्रतिशत र करारमा नियुक्त नेपाली पाइलटको ३३ प्रतिशत तलब कटौती गर्ने निर्णय भएको छ । लकडाउन शुरु भएलगत्तै नेपाल एयरलाइन्सले करारमा नियुक्त विदेशी पाइलटलाई २ साता र नेपाली पाइलटलाई १० दिन बेतलवी बिदा दिएको थियो ।

नेपाल एयरलाइन्सले करारमा कार्यरत १६६ जना एयर होस्टेसलाई समेत १० दिन बेतलवी बिदा दिएको थियो । तर, लकडाउन र अन्तराष्ट्रिय उडान–अवतरण तत्काल नखुल्ने भएसँगै कम्पनीले तलव कटौतीको दोस्रो निर्णय गरेको हो । अन्तराष्ट्रिय उडान प्रतिबन्ध अगाडि नै विदेशमा गएर उतै अड्किएका पाइलटको ६६ प्रतिशत तलब कटौती भएको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार यस पटक आइतबार तलव कटौतीसम्बन्धी नयाँ निर्णय भएको छ ।

जसअनुसार विदेशी पाइलटको हकमा ५० प्रतिशत तलब कटौती भएको छ । ‘लकडाउन तत्काल नखुल्ने भएपछि हामीले बढी तलब बुझ्ने कर्मचारीको तलबलाई तत्काल कतौती गर्ने निर्णय गरेका हौं,’ उनले भनिन् । नेपाल एयरलाइन्समा कूल १५ जना विदेशी पाइलट छन् । जसमध्ये २ जना एयरबस ३२० न्यारोबडी उडाउने पाइलट हुन् । १३ जनाले भने वाइडबडी ए ३३० जहाज उडाउँछन् ।

                                                                             नेपाली पाइलटको ३३ प्रतिशत तलब कटौती

करारमा नियुक्त नेपाली पाइलटको भने तलब ३३ प्रतिशत कटौती हुने भएको छ । नेपाल एयरलाइन्सले आधारभूत तलबमा कटौती गर्नेछ । जसअनुसार आधारभूत तलब मासिक १० हजार डलरभन्दा माथि पुग्ने विदेशी पाइलटको तलब ५० प्रतिशत र १० हजार डलरभन्दा कम तलब बुझ्ने पाइलटको तलब ४० प्रतिशत घट्ने भएको छ ।

नेपाली पाइलटको भने सबैको समान ३३ प्रतिशत तलब कटौतीको निर्णय नेपाल एयरलाइन्सले गरेको हो । अन्तराष्ट्रिय उडान प्रतिबन्ध अगाडि नै विदेशमा गएर उतै अड्किएका पाइलटको हकमा भने ६६ प्रतिशत तलब कटौती भएको छ । उनीहरुले एक तिहाइ मात्र तलब बुझ्ने छन् । एयर होस्टेसको हकमा समेत सोही नियम लागु हुने नेपाल एयरलाइन्स स्रोतले जानकारी दिएको छ ।

                                                                            तलब कटौतीको निर्णय तीन महिनासम्मलाई

आइतबार निर्णय भएको तलब कटौतीको निर्णय तीन महिनाका लागि हो । त्यतिन्जेल अवस्था सामान्य हुने अपेक्षा छ । त्यसपछि अवस्था हेरेर अर्को निर्णय हुने बताइएको छ । तर, लकडाउन तथा उडान प्रतिबन्ध खुल्नासाथ एकै पटक ठूलो संख्यामा यात्रुको चाप बढ्ने भन्दै आफ्ना सबै क्याबिन क्रुलाई सेवामा तयार रहन समेत नेपाल एयरलाइन्सले आग्रह गरेको छ ।

किनकी अहिले लाखौं नेपाली खाडी क्षेत्रबाट घर आउने पर्खाइमा छन् । उडान प्रतिबन्ध कहिलेसम्म लम्बिन्छ वा कहिले खुल्छ भन्ने सुनिश्चित नभएका कारण नेपाल एयरलाइन्स तत्काल कर्मचारी कटौतीको पक्षमा भने छैन । आज हामीले कसैलाई सेवाबाट निकाल्यौ र अर्को सातामै लकडाउन खुल्यो भने सेवा हाम्रै रोकिने हो,’ निगमका एक अधिकारीले भने, ‘त्यसकारण खर्च जोगाउने उपायस्वरुप तलब कटौती गरेका हौं ।

प्रतिक्रिया दिनुहोस्