Logo

स्रष्टा तथा कलाकार ठगिनेमा म्यूजिक नेपाल एक नम्बरमा आएको कलाकर्मीहरुको आरोप,अब कानुनी उपचारमा जाने कलाकर्मीहरुको तयारी 



कलाखबर संवाददाता,४,मंसिर–काठमाण्डौं । स्रष्टा तथा कलाकारहरुको सृजनालाई खुम्च्याएर एकलौटी रुपमा फाईदा उठाउदै ठगिने कम्पनीको रुपमा म्यूजिक नेपाल एक नम्बरमा रहेको कलाकर्मीहरुले आरोप लगाएका छन् । यो समाचार कान्तिपुर सप्ताहिकले पनि पुष २ गतेको अङ्कमा प्रकाशन गरेको छ । केही समय अगाडी कयौ कलाकारहरुले यूटयूवमा हालेको भिडियोबाट पैसा आउछ भन्ने थाहा थिएन । प्रविधिले फन्को मार्दै गर्दा त्यो कुरो विस्तारै सबैले थाहा भयो ।

यसको लाभ म्यूजिक नेपालले रामैसँग उठायो । कुनै गायक गायीकाहरुलाई आफ्नो गीतबाट आएको रकमको सानो हिस्सा दिने गरेका थिए भने कुनैलाई एक सुक्का पनि रकम नदिएको उनीहरु बताउछन् । त्यो किसिमको विभिन्न कम्पनीको मनोमानी एकाधिकारका कारण अहिले साँगीतिक बजारमा आफै कलाकार आफै मालिक भन्नु पर्ने अवस्था आएको पनि सँगीतकर्मीहरु बताउछन् । अहिले कलाकारहरु आफैले धमाधम यूटयूव च्यानल खोल्न थालेका छन् ।

कसैले रामै लाभ लिई रहेका छन् भने कसैको दयनीय अवस्था छ । गीत–संगीतमा लगानी गरेर कुनै कम्पनीलाई दियो भने एक सुका पनि प्रतिफल नपाउने भएपछि अधिकांश कलाकारले आफ्नै युट्युब च्यानलमार्फत आफ्ना सिर्जना अपलोड गर्न थालेको लक्ष्मण शेष बताउछन् । म्यूजिक नेपालले अन्य स्टेज सो लगायत अरु सार्वजनिक कार्यक्रममा गायक गायीकाहरुले दिने गरेको आफ्नो प्रस्तुती र सृजना माथी पनि कपी राईट लगाउने गरेको छ । यसबाट अधिकाँश कलाकारहरु नै म्यूजिक नेपाल प्रति रुष्ट बनेका छन् । यो कदमले कलाकार खुम्चिएको सबैको आँकल छ ।
पछिल्लो समय विकसित भएको डिजिटल मार्केटका विभिन्न पोर्टलहरूमा खुलेआम गीतसंगीतको बिक्री गरिरहेका छन्,’ शेष भन्छन्, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डिजिटल बजारमा के–कति आम्दानी भइरहेको छ भन्ने विषयमा तिनले वास्तविक उत्पादक स्रष्टा प्रस्तोताहरूलाई न कुनै तथ्याङ्क दिन्छन्, न कुनै विवरण दिन्छन्, न त त्यसको आर्थिक अधिकारस्वरूप प्राप्त हुने रकम नै दिन्छन् ।

सांगीतिक क्षेत्रमा डिजिटल प्रविधि भित्रिएसँगै यसको प्रत्यक्ष मारमा पुराना संगीतकर्मीहरू परेका छन् । नारायणगोपाल, तारादेवी, नातीकाजी, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, दीपक खरेल, यादव खरेल, शम्भुजित बास्कोटा, दीप श्रेष्ठ, कुमार बस्नेतलगायतका स्रष्टाको सिर्जनालाई केही निजी कम्पनीले एकाधिकार जमाइरहेको आरोप पनि लाग्ने गरेको छ, जसबाट स्रष्टाले एक रुपैयाँ पनि पाएका छैनन्, तर ती म्युजिक कम्पनीहरूले भने करोडौं कमाइरहेका छन् । यसरी स्रष्टाको सिर्जनालाई विभिन्न माध्यममा बेच्ने तर स्रष्टा केही नपाउने कम्पनीको विरुद्धमा कानुनी प्रक्रियामा जाने तयारीमा रहेको संगीतकार शेषको भनाइ छ ।

स्रष्टाको बौद्धिक सम्पत्तिमा एकाधिकार जमाउने र प्रतिलिपि अधिकार हनन गर्नेमा म्युजिक नेपाल अग्रस्थानमा पर्ने अधिकांश संगीतकर्मीहरू आरोप लगाउँछन् । हिजो रेडियो नेपालमा रेकर्डिङ भएका अधिकांश गीत–संगीतमाथि म्युजिक नेपालले कब्जा जमाएको छ । ती गीतहरूमा कपिराइट समेत म्युजिक नेपालले नै राखेको शेष बताउँछन् । ‘हिजो रेडियो नेपालमा रेकर्डिङ भएका गीतहरूमा पनि म्युजिक नेपालले कपिराइटको सिम्बोल दिएको छ,’ शेष भन्छन्, ‘यस्तो गर्नु भनेको स्रष्टा कलाकारमाथि अपमान गर्नु हो, ठग्नु हो ।

त्यसैले यस्ता कम्पनीहरूमाथि शेषलगायतको टिम बौद्धिक सम्पत्ति चोरी तथा प्रतिलिपि अधिकार हननसम्बन्धी विषय र त्यसका विरुद्ध कानुनी प्रक्रियामा जाँदै छ । आफ्नो सिर्जना खुलेआम रूपमा लुटिएकोमा र आफू अन्यायमा परेको विषयमा स्रष्टा के भन्छन् रु स्रष्टाको सिर्जनामा मनपरी ढंगले प्रयोग गर्दै आएको विभिन्न एग्रिगेटरमध्ये म्युजिक नेपाल अग्रस्थानमा छ । गीतकार यादव खरेल आफ्नो कपिराइट भएको करिब ६० देखि ७० वटा गीत म्युजिक नेपालले राखेको बताउँछन् ।

योबाहेक चलचित्रका लागि उनले लेखेका करिब ३० वटा गीत पनि त्यहीँ छन् । ‘करिब पाँच वर्षअघि म्युजिक नेपालले ३ हजार ५ सय रुपैयाँ दुईपटक दिएको याद छ,’ खरेल भन्छन्, ‘त्यसपछि मैले पैसा पाएको छैन ।’ म्युजिक नेपालबाट दुई पटकमा ७ हजार रुपैयाँ पाए पनि अन्य एग्रिगेटरबाट भने अहिलेसम्म एक सुका पनि नपाएको खरेलको दाबी छ । म्युजिक नेपालमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएको गीत–संगीतको व्यापार हेर्ने हो भने आफूले पाएको पैसा एकदमै कम भएको खरेल बताउँछन् ।

गायक प्रेमध्वज प्रधानका गीतहरू पनि म्युजिक नेपालले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेर आम्दानी गरिरहेको छ । गायक प्रधानलाई पनि म्युजिक नेपालले करिब ४र५ वर्षअघि ३ हजार ५ सय रुपैयाँ र त्यसभन्दा अघि एकपटक १ हजार रुपैयाँ लिएको याद छ । त्यसपछि आफूलाई म्युजिक नेपालले पैसा नदिएको प्रधान बताउँछन् । उनलाई केही समय अघि म्युजिक नेपालले सम्मान गर्ने भन्दै प्रस्ताव गरेको थियो । यद्यपि उनले त्यो प्रस्तावलाई अस्वीकार गरिदिए ।

उनी भन्छन्, ‘मलाई सम्मान दिएर रोयल्टी छुट गर्ने उनीहरूको दाउ होला भन्ने ठानेर सम्मान नलिने निर्णय गरें ।’ म्युजिक नेपालले स्रष्टाहरूमाथि यतिसम्म ज्यादती गरेको छ कि प्रधानले सन् १९७० मा बम्बईमा गएर आफ्नै लगानीमा गाएको १० वटा गीत पनि उसैले अपलोड गरेको छ । आर्थिक अधिकारको पाटो एकातिर छ । गीत–संगीतमा नैतिक अधिकारको कुरा पनि संगीतकर्मीमाझ टड्कारो रूपमा उठ्ने गर्छ । सरकारी सञ्चारमाध्यमहरूले नै नैतिकता उल्लंघन गरेको कतिपय संगीतकर्मी आरोप लगाउँछन् ।

आर्थिक उल्लंघनमा पनि निजी र सरकारी सञ्चारमाध्यमहरू अग्रस्थानमा रहेको गीतकार खरेलको आरोप छ, ‘उनी भन्छन्, ‘रेडियो, टेलिभिजनले गीत बजाएको पैसा दिँदैनन् । त्यसमै पनि स्रष्टाहरू ठगिएका छन् ।’ सरकार पनि यस विषयमा मूकदर्शक बनेको खरेलको आरोप छ । रेडियो नेपालको प्रत्यक्ष लगानी भएका हजारौं गीत–संगीत अरूले लुटेर लगेको छ तर रेडियो नेपाललाई त्यसको कुनै मतलब छैन ।

गीतकार खरेल भन्छन्, ‘रेडियो नेपालका पदाधिकारीहरूमा पनि त्यो खालको चेतना छैन या जो रेडियो नेपालभित्र हाकिम छन् तिनीहरूको पनि कतै स्रष्टा ठग्ने एग्रिगेटरहरूबीच साँठगाँठ त छैन रु भन्ने शंका गर्नुपर्ने अवस्था आएको छ । गायक दीपक खरेलका गीत पनि विभिन्न म्युजिक कम्पनीले हरेक माध्यमबाट बिक्री गरिरहेका छन् । जसमध्ये उनलाई म्युजिक नेपालले विगत ५ वर्षयता दसैंको छेको पारेर ४र५ हजार रुपैयाँ दिँदै आएको छ, उनी भन्छन्,‘म्युजिक नेपालले मलाई दशैंको बेला ४र५ हजार दिदैं आए पनि यो अपर्याप्त हो ।

त्यसैले विभिन्न म्युजिक कम्पनीले स्रष्टाहरूलाई घुमाउरो तवरले ठगिरहेका छन् भन्ने बुझ्न गाह्रो पर्दैन । यसरी विभिन्न पोर्टलहरूमा नेपाली गीत–संगीत बिक्री गरेर कलाकारलाई ठगिरहेका म्युजिक कम्पनीहरूको विरुद्धमा सत्यराजरस्वरूपराज आचार्य पनि खुलेर लागेका छन् । ‘संगीतमा एकखालको सिन्डिकेट छ त्यसलाई तोड्नुपर्छ भनेर लागिरहेका छौं ।’ गायक भक्तराज आचार्यका छोरा सत्यराज भन्छन्, ‘कलाकारको सम्पत्ति लुटेर कलाकारलाई नै अँध्यारोमा राखेर शोषण गरेको देख्दा नरमाइलो लागिरहेको छ ।

यतिबेला म्युजिक नेपालले नेपाली कलाकारहरूलाई थाहै नदिईकन संसारका विभिन्न २८ वटा पोर्टलहरूबाट नेपाली संगीत बिक्री–वितरण गरिरहेको सत्यराज बताउँछन् । यसले प्रतिलिपि अधिकारको हनन गरेको छ । त्यसैले अहिले आफूहरूको मुख्य मुद्दा नै यही भएको स्वरूपराज थप्छन् । यसमा कलाकारहरूले खासै ध्यान नदिएको र केही कलाकारहरूले उसले गरिरहेको बेइमानीलाई बाहिर ल्याएपछि भने म्युजिक नेपाल झसंग भएको स्वरूपराजको भनाइ छ । ‘अब हामी कानुनी प्रक्रियाबाट सम्पूर्ण कलाकारहरूको न्यायका लागि लड्छौं, उनी भन्छन् ।

ठगीको आरोप लागेको म्युजिक नेपालले भने आफूले स्रष्टा कलाकारलाई कुनै पनि अन्याय नगरेको दाबी गरेको छ । ‘म्युजिक नेपालले सम्झौताअनुसारको काम गर्छ र सम्झौताबमोजिम नै स्रष्टा कलाकारको रोयल्टी तिरिरहेको छ,’ म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा भन्छन्, ‘म्युजिकको कतिपय कुरा टेक्निकल छ र कम्प्लिकेटेड पनि छ । हामीले युट्युबबाट प्राप्त रोयल्टी माग्न आउने स्रष्टा कलाकारलाई दिएका छौं भने लिन नआउनेको रोयल्टी सुरक्षित छ ।

म्युजिक नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न पोर्टलहरूमा नेपाली गीत–संगीत बिक्री गरेको, तर स्रष्टा–कलाकारलाई त्यसबापत प्राप्त हुने रोयल्टी नदिएको भन्ने आरोप पनि लाग्ने गरेको छ नि त रु भन्ने प्रश्नमा शर्मा भन्छन्, ‘विभिन्न पोर्टलबाट आएको स्रष्टा–कलाकारको रोयल्टी हामीसँग सुरक्षित छ त्यसलाई पारदर्शी वितरणका लागि हामी सफ्टवेयरको डेभलप गर्दैछौं ।

सफ्टवेयरबाट डाटा क्लियर हुनेबित्तिकै सबै कलाकारको रोयल्टी वितरण गर्ने शर्माले बताए । कुनै कुनै सानो कम्पनीले आफनो लोगो राखेर कलाकारहरुको गीतलाई विना अनुमति म्यूजिक नेपालमा हाल्ने गरेको छ । त्यसको फाईदा कलाकारहरु आफैले थाहा नपाई दुईटै कम्पनीले फाईदा लिई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्