‘रासस समयानुकूल गतिशील बन्नुपर्छ’

वीरेन्द्रनगर, ७ फागुन,कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)ले समयानुकूल गतिशील हुनुपर्नेमा जोड दिनुभएको छ ।
रासस कर्णाली प्रदेशले आज यहाँ आयोजना गरेको ५८औँ वार्षिकोत्सव समारोहमा उहाँले राससले आफूलाई समायानुकूल परिवर्तन र पुनःसंरचना गर्नुपर्ने बताउनुभयो । रासससहित नेपालको मिडियाजगत्ले व्यवस्था परिवर्तन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको औँल्याउँदै उहाँले प्रदेश सरकार मिडिया मैत्री रहेको बताउनुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा दीपेन्द्र रोकायले कर्णाली प्रदेशका ८९ वटै स्थानीय तहबाट काम गर्ने गरी रासस अघि बढ्न सुझाव दिनुभयो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सङ्घीयतालाई बलियो बनाउन राससको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले राससले यस प्रदेशमा पनि संरचनाहरु निर्माण गरेर सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहन आचार्य, नेकपाका नेता डण्डीप्रसाद शर्मा, नेपाली काङ्ग्रेसका नेता अनन्त पौडेल, राप्रपाका नेता सन्तोषी सिंह लगायतले राससको भूमिका महत्वपूर्ण रहेको भनाइ राख्नुभएको थियो ।
तीन पुरस्कृत
राससको स्थापना दिवसका अवसरमा कर्णाली प्रदेशका तीन राससकर्मी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा सुर्खेतबाट दीपेन्द्र शर्मा, हुम्लाबाट दाने बाहोरा र जुम्लाबाट उपेन्द्र न्यौपाने रहनुभएको छ । पुरस्कृत स्थानीय समाचारदातालाई आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारीले जनही रु पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उत्कृष्ट समाचार लेखनतर्फ शर्मा, उत्कृष्ट फोटोतर्फ बोहोरा र उत्कृष्ट आलेख लेखनतर्फ न्यौपाने पुरस्कृत हुनुभएको हो ।