प्रियंका पछयाउँदै परिणीति

बलिउडका दुई नायिका प्रियंका चोपडा र परिणीति चोपडा नाताले दिदीबहिनी हुन् । परिणीतिलाई बलिउडमा इन्ट्री गर्न दिदीले सक्दो सहयोग गरेकी पनि थिइन् । अझै पनि बहिनी नयाँ कदम चाल्नुअघि दिदीसँग सल्लाह लिइहाल्छिन् ।
त्यसो त प्रियंकाले यति बेला बलिउड हुँदै हलिउडसम्मको यात्रा तय गरिसकेकी छन् । गायिकाका रूपमा अमेरिका छिरेकी प्रियंकाले हलिउडमा पनि आफ्नो स्थान बनाइसकेकी छन् । अब पालो यति बेला बहिनीको आएको छ ।
वजन अप्रत्यासित रूपमा घटाएर स्लिम–ट्रिम बनेकी परिणीति ‘किल दिल’ रिलिजको तीन वर्षपछि मात्रै ‘मेरी प्यारी बिन्दु’ मा फुलफ्लेज नायिकाका रूपमा देखिँदै छिन् । यसै वर्ष उनी ‘गोलमाल अगेन’ मा पनि देखिने भएकी छन् । पुन: एक्टिङलाई सुचारु गरेकी परिणीतिले अब भने गायनमा पनि आफूलाई टेस्ट गरेकी छन् । ‘माना के हम यार नहीं…’ गीत रेकर्ड गर्दै उनी दिदीकै पाइला पछयाउँदै गायनमा आएकी छन् ।
बहिनीको गीत सुनेपछि प्रियंकाले टीटरमा खुसी साट्दै लेखेकी छन्, ‘तिमीमा गर्व छ, बेबी । तिम्रो डयाडी पनि गौरवान्वित हुनुहुनेछ जसरी म भएँ ।’
दिदीको टीटको प्रत्युत्तरमा परिणीतिले पनि थपिदिइन्, ‘धन्यवाद मिमी (दिदी) । म तपार्इंकै पदचाप पछयाउन चाहन्छु । अँ, पापा पनि खुसी नै हुनुभयो ।’
जवाफमा ‘मेरी प्यारी बिन्दु’ को–स्टार आयुष्मान खुरानाले पनि परिणीतिको सराहना गर्दै टीट गरेका छन्, ‘परिणीतिको आवाज बिलकुल मेरो उपन्यासकी हिरोइनको जस्तै रहेछ, सुमधुर र सेक्सी ।’ परिणीतिले भने आफ्नो गायन अनुभवबारे केही खुलाइसकेकी छैनन् ।