Logo

गीतकार राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ बोलको गीत सार्वजनिक


कलाखबर,७ माघ–काठमाण्डौं । गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ बोलको गीत सार्वजनिक भएको छ । ओमप्रकाश राईको संगीत र पेमा शेर्पा राईको स्वरलहरी रहेको गीतलाई ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गीतमा एकतर्फी माया प्रेमकोे संवेदनशील अनुभूति र आत्मीय भाव प्रस्तुत गरिएको छ ।

माया पिरतीको यथार्थता बोकेको यस सदावहार गीतले छोटो समयमै दर्शक श्रोताहरुको मनलाई जित्न सकिने विश्वास र आशा गरिएको गीतकार राईले बताएका छन् । गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’ को इडिटिङ र गोविन्द सोनीको मिक्सिङ मास्टरिङ रहेको छ । यसअघि पनि गीतकार राईका थुप्रै गीतहरु रेकर्ड भइसकेका छन् ।

शिला खनालले २०७५ मा ‘मधुमासमै मीठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन् । त्यस्तै मनमा बी राईले २०७९ मा र नवराज पराजुलीले २०८१ मा ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा राई दस वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका हुन् । हाल उनी साहित्य र पत्रकारितामा सक्रिय छन् ।

उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन् । राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन् । ‘लघुकथा सौन्दर्य’ का संस्थापक उनी नेपाली लघुकथाको विकासमा क्रियाशील छन् । उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन् । राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ यसअघि प्रकाशित भइसकेको छ ।

उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ पत्रिकामा समेत सम्पादन अनुभव बटुलिसकेका छन् । नेपाली भाषा र साहित्यमा पु¥याएको योगदानको कदरस्वरूप राईले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०) र गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्