Logo

पूर्वदेखि पश्चिमसम्म नेपथ्य यात्रा


कलाखवर सम्वाददाता, कार्तिक २९- लोकरक व्याण्ड नेपथ्यले मुलुकको पूर्वी भेगदेखि पश्चिमी किनारसम्म समेट्ने गरी तराई मधेसका चार वटा सहरको सांगीतिक यात्रा गर्ने भएको छ। मंसिरको पहिलो साता झापाको विर्तामोडबाट सुरू हुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिने छ। केही समय अघि मात्र काठमाडौं र सिक्किमका दर्शकसामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो स्थापनाको २५ औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो।

मंसिर ४ गते झापाको विर्तामोडबाट सुरू हुने यो यात्रा मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ। कन्सर्टमा दर्शकहरूका लागि नेपथ्यले नयाँ पुराना सबै लोकप्रिय गीतहरू मध्येबाट प्रस्तुतीका लागि चयन गरेको छ। त्यस बाहेक दसौं एल्बम सार्वजनिक गर्ने तयारीको संघारमै रहेको ब्याण्डले ताजा गीतहरू पनि आफ्ना स्रोता दर्शकलाई सुनाउनेछ।

‘द्वन्द्वका बेला सबैभन्दा बढी बिथोलिएको पश्चिमी भेगमा हामीले धेरै पटक पुगेर कन्सर्ट आयोजना गर्दै संगीतका माध्यमबाट भारी मनहरूलाई हलुका पार्न खोजेका थियौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यति बेला खतरालाई चिर्दै यात्रा गर्ने नेपथ्य अब पनि मुलुकभरका दर्शकहरूसँग निरन्तर जोडिएर अघि बढ्न प्रयत्नरत छ ।’

प्रतिक्रिया दिनुहोस्