अर्काको एटिएमबाट १४ लाख चोरेर क्यासिनोको बास, ३ जना भारतीय ठमेलबाट समातिए
काठमाडौँ । दुई दिनअघि काठमाडौं प्रहरीलाई यस्तो सूचना आयो, ‘अर्काको डाटा प्रयोग गरेर विभिन्न बैंकको एटिएमबाट पैसा निकाल्ने गिरोह काठमाडौँको ठमेलमा सक्रिय छ ।’
आर्थिक अपराधसँग सम्बन्धित महत्वपूर्ण सुचना पाउनासाथ महानगरीय प्रहरी परिसर काठमाडौँका सुरक्षा अधिकारीहरु सूचना फलो गर्न थाले । अन्ततः दुई दिनको मेहनतपछि ठमेलस्थित एक होटलबाट एटिएम फ्रड गर्ने कार्यमा संलग्न तीन भारतिय नागरिकसहित चार जना पक्राउ परेका छन् ।
एटिएम चोरीमा संलग्न भारतिय नागरिकहरु जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतम र नेपाली नागरीक अनुज नकर्मीलाई सोमबार ठमेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख ९एसएसपी० बसन्त लामाले जानकारी दिए ।
करिब एक महिनादेखि ठमेलको एक होटलमा बसेर एटिएम चोरीमा संलग्न भारतिय गिरोह एटिएम चोरीको पैसा बोकेर क्यासिनो जाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आइर्तबार रातभर एटिएम फ्रड गर्नेहरु मल्ल होटलको क्यासिनो बेलीमा जुवा खेलेर बसेपछि प्रहरीले उनिहरुलाई सोमबार विहान मात्र नियन्त्रणमा लिएको छ ।
‘प्रारम्भिक अनुसन्धानको क्रममा यो समूहले १४ लाख पैसा एटिएमबाट चोरी गरेको खु्लेको छ’ काठमाडौँ प्रहरी प्रमुख लामाले भने, ‘यसबारे थप अनुसन्धान शुरु गरेका छौँ ।’
भारतिय नागरिकहरुसँगै पक्राउ परेका क्षेत्रपाटी बस्ने नेपाली नागरिक अनुज नकर्मीले ब्रोकरको काम गर्दै आएको बताईएको छ । भारतीय नागरिक मध्येका केराला स्थायी घर भएका जिन्टु जुवाए आईटिका जानकार हुन् ।
उक्त समुहले विदेशी नागरिकको एटिएम डाटा ल्याएर नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक र टुरिजम बैंकको खाताबाट पैसा निकालेका थिए ।
यो गिरोहले एटिएम कार्डलाई ‘स्वाइप मेशिन’ मार्फत् स्वइप गरेर पैसा निकाल्दै आएका थिए । प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीको नाममा रहेका आधा दर्जन स्वाइप मेशिन, ल्यापटप र एटिएम कार्डहरु बरामद गरेको छ ।