जिल्ला प्रशासनले हटाइयो कञ्चनपुरको कर्फ्यू , सरकारी टोलीहरुसँग वार्ताको तयारी

कलाखबर संवाददाता,८,भदौ– काठमाडौं । निर्मला पन्त हत्या प्रकरणबारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शन नियन्त्रण बाहिर गएपछि महेन्द्रनगरमा लगाइएको कर्फ्यू जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हटाएको छ । अवस्था सामान्य बन्दै गएपछि शुक्रबार बिहान ५ बजेबाट कर्फ्यू हटाइएको हो ।प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बिहीबार ४ जना आन्दोलनकारी घाइते भएका थिए ।
आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसोबाट अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको थियो । बिहीबार मात्रै कञ्चनपुरको प्रहरी प्रमुखको जिम्मेवारी लिएर जिल्ला पुगेका एसपी कुबेर कडायतले अवस्था नियन्त्रणमा आएपछि बिहीबारदेखि जारी गरिएको कर्फ्यू अहिले बिहान ५ बजेबाट हटाएको अनलाइनखबरलाई जानकारी दिए ।
‘महेन्द्रनगर आज बिहानैदेखि शान्त छ, यहाँ कुनै पनि प्रदर्शन छैन’, एसपी कडायतले भने, ‘त्यसैले हामीले कर्फ्यू हटाएका छौं । अघिल्ला दिन बिहानैदेखि महेन्द्रनगरका सडकमा नाराबाजी हुने गरेको भए पनि आज भने फरक दृश्य देखिएको छ । एसपी कडायतका अनुसार, सडकमा सवारी साधन गुडिरहेका छन् भने पसल अघिल्ला दिनको तुलनामा उल्लेख्य मात्रामा खुलेका छन् ।
वार्ताको पहल
सरकारले छानबिन समिति गठन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख बदलेपछि आन्दोलनकारी वार्तामा आउने अपेक्षा गरिएको छ । यद्यपि, आन्दोलनरत पक्ष र सरकारबीच वार्ता भने हुन सकिरहेको छैन । एसपी कडायतले पीडित परिवार र आन्दोलनकारीसँग सम्पर्क गरेर आफूले वार्ताको पहल थालेको जानकारी दिए ।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न माग गर्दै शुरु आन्दोलन चर्किएपछि सरकारले बिहीबार गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । समितिले पनि यसबारे छानबिन अघि बढाउने बताइएको छ ।