Logo

‘दलित’ भन्दै एक महिलालाई जागिरबाट निकाला, रुँदै पिडितले प्रशासन समक्ष दिईन उजुरी


 

कलाखबर,संवाददाता,२२,साउन–दिक्तेल ।खोटाङ जिल्ला दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयका प्रध्यानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक ललितकुमार बस्नेतले एक दलित महिलालाई जागिरबाट निकाली दिएका छन् । रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छन् ।

दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष सो कुरा बताउदै कारवाहीको माग गरेकी हुन् ।

विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक ललितकुमार बस्नेतले आफूलाई दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालेको उनले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । ‘रोशन सर र ललित सरले मैले पकाएको चिया र तातोपानीसमेत खानुहुन्नथ्यो’ ज्ञापनपत्रमा भनिएको छ । उहाँहरू दुवैलाई जातीय विभेदसम्बन्धी कारबाही गर्नु पर्ने माग समेत गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले दुवै पक्षलाई राखेर समस्या समाधान गर्ने बताए । ‘विश्वकर्मामाथि जातीय विभेद र जालसाजी दुवै भएको देखिन्छ, उनले भने, घटना गम्भीर भएकाले थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

लामो समयदेखि सो विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत विश्वकर्मालाई गत जेठ २७ गतेबाट हटाइएको ज्ञापनपत्रमा उल्लेख छ । विश्वकर्मालाई हटाएलगत्तै उनको ठाउँमा विद्यालयले अर्को व्यक्ति नियुक्त गरेको पाइएको छ ।

आफूलाई हटाएर अर्को व्यक्तिलाई राखेको थाहा पाएपछि विद्यालयमा बुझ्न जाँदा उल्टै हप्काएर पठाएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्