कुटुमा कुटु गीतले यूट्यूबमा पाँच करोड दर्शक कमाउन सफल
![](https://www.kalakhabar.com/wp-content/uploads/2018/02/kutu-ma-kutu-supari-dana-1.jpg)
कलाखबर संवाददाता,फागुन १६ – काठमाण्डौ ।, चलचित्र २ रुपैयाँको चर्चित गीत ‘कुटुमा कुटु’ ले यूट्यूबमा ५ करोड भ्यूज नघाएको छ । नेपाली संगीत क्षेत्रका लागि यो एउटा दुर्लभ कीर्तिमान हो ।
यूट्यूबमा अपलोड गरेकै दिनदेखि यो गीतले कीर्तिमानमाथि कीर्तिमान कायम गर्दै आएको थियो । यूट्यूबमा मात्र नभएर मेलापातदेखि डान्स पार्टीसम्म गीत उत्तिकै लोकप्रिय छ । सबै उमेर समुहका नेपालीहरुको ओठमा यो गीत झुण्डिएको छ । गीतको कोरियोग्राफी पनि उत्तिकै रुचाइएको छ ।
यस गीतका संगीतकार राजनराज शिवाकोटीले आफ्नो सिर्जना यति धेरै लोकप्रिय होला भन्ने परिकल्पनासमेत नगरेको बताएका छन् ।
‘म आफूलाई भाग्यशाली ठान्दछु, यो अर्थैमा कि मैले तपाईंहरुलाई मन पर्ने गीत बनाउन सकेँ, जुन ईश्वरको कृपा हो,’ उनले फेसबुकमा लेखेका छन् । उनले यो टिम वर्कको नतिजा भएको उल्लेख गरेका छन् ।
पछिल्लो समय राजनराजद्वारा संगीतबद्ध थुप्रै गीतहरु यूट्यूबमा करोड भन्दा धेरै भ्यूज भएको छ ।