नयाँ फिल्म ‘द प्रिन्स’ निर्माण हुने पक्का

कलाखबर संवाददाता,१५–फागुन,काठमाण्डौ । पुराना निर्देशक मदन घिमिरेको निर्देशनमा नयाँ फिल्म ‘द प्रिन्स’ निर्माण हुने भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा फिल्मको औपचारिक निर्माण घोषणा गरियो । एन।पी। फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता विष्णु सिवाकोटी हुन् ।
नयाँ कलाकारहरुको बाहुल्यता रहने फिल्मको कथा संगीतकार सम्राट थापाले लेखेका छन् । सरोज खनालको प्रमुख भूमिका रहने फिल्ममा प्रिन्स थापा, शिवु शाह, कशिश दाहाल, मनिषा पाण्डे, निशा केसी लगायतको पनि अभिनय रहनेछ ।
आधुनिक परिवेश, प्रेम, रोमान्स, मनोरञ्जनका साथै घात, विश्वास, त्याग र रहस्यको सेरोफेरोमा ‘द प्रिन्स’ निर्माण हुने निर्देशक घिमिरेले जानकारी दिए । उनले भने, ‘आत्मबलमा ठूलो शक्ति हुन्छ र निर्णय क्षमताले लक्ष्यसम्म पुग्न सहयोग गर्छ भन्ने सन्देश फिल्मले दिनेछ ।’
रामशरण उप्रेतीको छायांकन रहने ‘द प्रिन्स’ मा कविराज गहतराजको नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द्व र भोजराज देवकोटाको पटकथा रहनेछ ।