Logo

घुम्नमै व्यस्त हमाल, फिल्ममा कमब्याक कहिले ?


कलाखबर संवाददाता,फागुन–१०, काठमाण्डौ, एक समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता राजेश हमाल पछिल्लो केही समय यता फुर्सदिलो जीवन विताइरहेका छन् । नेपाली दर्शकमाझ महानायक उपनामले समेत कहलिएका हमाल अहिले फिल्मभन्दा घुमघाममै व्यस्त देखिन्छन् ।

उनी अभिनीत पछिल्लो फिल्म शकुन्तला प्रदर्शनमा आएको थियो । यो फिल्म बक्स अफिसमा असफल भएपछि उनी पर्दामा देखिएका छैनन् ।

चाँडै उनले एपी वान टिभीबाट प्रशारण हुन लागेको को बन्छ करोडपति होस्ट गर्दैछन् । फिल्मबाट केही टाढाको दूरी बनाउँदै गएका हमालका प्रशंसकका लागि यो शोको अहिले खुब प्रतिक्षा भइरहेको छ । उनी आफ्नै लगानी र निर्देशनमा बन्न लागेको एक नयाँ फिल्मको तयारीमा समेत छन् ।

झन्डै ३ दशक लामो अभिनय यात्राको अनुभवलाई सर्टिफिकेट मान्दै उनले फिल्म निर्देशन गर्ने निर्णय लिएका हुन् । तर, यो प्रोजेक्ट कहिलेबाट सुरु हुन्छ त्यो स्वयंम हमाललाई नै थाहा छैन । खबरअनुसार, हाल उनी स्क्रिप्टमा छन् ।

फिल्ममा अभिनय गर्दैगर्दा फ्रेस हुन काहीँ  कतै निस्कन नपाएका हमाल विवाहपछि भने विदेशका विभिन्न देशहरु पुगिरहेका छन् । उनी नेपाल वा विदेशमा हुने साँस्कृतिक कार्यक्रममा श्रीमती मधु भट्टराईलाई साथमै लिएर पुग्छन् ।

एक समय मोवाइल समेत नबोक्ने हमाल अचेल जहाँ पुगे पनि फेसबुकमा आफ्नो वा श्रीमतीसँगका तश्बिरहरु शेयर गरिरहेका हुन्छन् । २ लाख भन्दा बढी फलोअर्स रहेको फेसबुकमा प्रायः हमालले घुमघामका तश्बिरहरु नै शेयर गर्ने गरेका छन् ।

यतिबेला उनी श्रीमती मधुसँग मलेशिया घुमघाममा मस्त छन् । तत्काल पिता बन्ने सोच नरहेको बताउने हमाल अब कहिले फर्किएला फिल्ममा उनको कमब्याकको प्रतिक्षामा छन् दर्शक ।

प्रतिक्रिया दिनुहोस्