Logo

निर्वाचन अघिको सहमतिअनुसार नै पार्टी एकताः अध्यक्ष दाहाल


रत्ननगर, चितवन, ८ फागुन ,रासस ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचन अघि नेकपा एमालेसँग गरेको सहमतिअनुसार नै पार्टी एकता भएको बताउनुभएको छ ।भरतपुर महानगरपालिका–२२ मा रहेको अमर माध्यामिक विद्यालयको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले दुई पार्टीबीचको एकताले अब नेपाललाई समृद्ध, विकास र सुशासनतर्फ अगाडि बढाउने उद्घोष गर्नुभयो ।

यही विद्यालयमा आफूले फुटबल प्रतियोगिता खेलेको स्मरण गर्दै अध्यक्ष दाहालले उक्त स्थानमा भावनात्मक सम्बन्ध जोडिएको उल्लेख गर्नुभयो । चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका दाहालले भरतपुर–जगतपुर तथा भरतपुर–मेघौली सडक कालोपत्रे हुने आश्वासन दिनुभयो ।

उहाँले निकुञ्ज आसपास क्षेत्रका जनतालाई जंगली जनावरले सास्ती दिएको भन्दै तत्कालै तारजालीको काम अघि बढ्ने बताउनुभयो । सो अवसरमा अध्यक्ष दाहालले विद्यालयका पूर्वविद्यार्थीलाई सम्मान गर्नुभएको थियो । यसैबीच आजै अपराह्न चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आजदेखि शुरु भएको ‘विकास रनिङ शिल्ड फुटबल’ प्रतियोगिताको समेत उहाँले उद्घाटन गर्नुभयो ।

सो क्रममा उहाँले नारायणगढको क्याम्पाचौरलाई ‘मिनी स्टेडियम’ बनाउन पहल गर्ने बताउनुभयो ।आजको उद्घाटन खेलमा फ्रेण्डस् क्लब ललितपुरले विजयी शुरुआत गरेको छ । उसले विजय युथ क्लब हेटाँैडालाई १–० अन्तरले पछि पारेको हो । उक्त खेलको विजेताले रु पाँच लाख पुरस्कार पाउने छ भने उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार पाउने छ ।

प्रतिक्रिया दिनुहोस्