Logo

इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवास नेम्वाङ विजय


इलाम, २४ मंसिर,राजकुमार राई । इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवास नेम्वाङ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशव थापालाई नौ हजार ६५४ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा चौँथो पटक विजयी हुनुभएको छ । नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी थापाले २६ हजार ८६० मत प्राप्त गर्नुभयो ।

नेम्वाङले नेपालका संविधानसभाका दुईवटै निर्वाचनपछि गठित संविधासभाको अध्यक्ष भई संविधान जारी गर्न मुख्य भूमिका निर्वाह गर्नुभएको थियो ।दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्को सभामुख बन्नुभएका नेम्वाङले लामो समय त्यही संसद्को सभामुख भई काम गर्ने अवसर पाउनुभएको थियो ।

इलामबाट २०५६ सालको संसदीय निर्वाचनमा विजय भएपछि उहाँले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री, सामान्य प्रशासनमन्त्री र संसद्को सार्वजनिक लेखा समितिको अध्यक्षको समेत भूमिका निर्वाह गर्नुभएको थियो ।हाल नेकपा ९एमाले० संसदीय दलका उपनेतासमेत हुनुभएका नेम्वाङ कसैलाई नहोच्याउने, नम्र र मिजाजिलो स्वभावका हुनुहुन्छ ।

उहाँले संविधान बनाउनका लागि सबैको सहकार्य अपरिहार्य रहनेमा जोड दिँदै आउनुभएको छ । नेकपा ९एमाले०को केन्द्रीय सदस्य र कानून विभाग प्रमुख रहनुभएका नेम्वाङले २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसका कुलबहादुर गुरुङ, २०६४ को संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका केशव थापा र २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई पराजित गर्नुभएको थियो ।

कानून व्यवसायीका रूपमा परिचित र प्राध्यापन पेशामा समेत संलग्न भइसक्नुभएका नेम्वाङले नेपाल बार एशोसिएसनको महासचिवको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो ।विसं २०२९ मा अनेरास्ववियुका तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएसँगै उहाँ राजनीतिमा निरन्तर क्रियाशील रहनुभएको छ । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लाग्नुभएका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो ।

नेपाल ल क्याम्पसमा २०३५ सालदेखि २०५१ सम्म उहाँले प्राध्यापन गर्नुभएको थियो ।आफ्नै पहलमा संविधान जारी भएको बताउँदै नेम्वाङले अब देश र जनताको विकास र समृद्धिका लागि ठोस योजना ल्याउनेमा जोड दिनुभयोे । “सबैको साथ र सहयोगमा निर्वाचनमा विजयी भइयो, अब जनताको हित र विकासको काम गर्नेछु”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्