फेसबुक च्याट, अबको केही महिनापछि सधैँका लागि बन्द हुँदैछ

काठमाडौं, २०, मंसिर ,राजकुमार राई । नेपालमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वचनको मौन ९प्रचारप्रसार गर्न नपाइने० अवधिमा एक्कासि फेसबुक च्याट बन्द हुँदा धेरैले हैरानी खेपे। निर्वाचनलाई मध्यनजर गरेर नेपालमा मात्र फेसबुक च्याट बन्द भएको धेरैले अनुमान गरे। कतिपय फेसबुक प्रयोगकर्ताले सरकार र निर्वाचन आयोगलाई तथानाम गाली बर्साउन थाले।
बन्द भएको आधा घण्टाभित्रै फेरि च्याट सेवा खुल्यो। निरास बनेका प्रयोगकर्ता पुनः यसको प्रयोगमा व्यस्त हुन थाले । एकछिन बन्द हुँदा मोबाइल प्रयोगकर्तामा देखिएको हैरानीले फेसबुक सबै मानिसका लागि एक अभिन्न अंग बनिसकेको पुष्टि भएको छ।
तर, अबको केही महिनापछि फेसबुक च्याट सधैँका लागि बन्द हुने भएको छ । तर, म्यासेन्जर एप डाउनलोड गरेर त्यसमार्फत भने यो सुविधा प्रयोग गर्न सकिनेछ । समाचारअनुसार फेसबुकले आफ्नो मोबाइल फोन प्रयोगकर्ताका लागि फेसबुक च्याटका लागि म्यासेन्जर एप डाउनलोड अनिवार्य गर्न लागेको बताइएको छ । गत अप्रिल महिनादेखि युरोपबाट यस्तो प्रयोग सुरु गरेर हौसिएको फेसबुकले विश्वव्यापी रूपमै म्यासेन्जर एपलाई अनिवार्य बनाउन लागेको समाचार छ।
म्यासेन्जर एपमार्फत हुने च्याट फेसबुकमा गरिने च्याटभन्दा द्रुत गतिको दाबी गरिएको छ, जसबाट प्रयोगकर्ताले छोटो समयमै प्रशस्त सन्देश आदान–प्रदान गर्न पाउनेछन् । तर मोबाइल वेब, आइप्याड, फिचर फोन, विन्डोज फोन, तथा डेक्सटप कम्प्युटर प्रयोगकर्ताले भने फेसबुकको विद्यमान एपबाटै च्याट गर्न सक्ने बताइएको छ।
स्मार्टफोनको फेसबुक एपमा रहेको म्यासेज ट्याबबाटै अहिलेसम्म अधिकांश आइफोन र एन्ड्रोइड फोन प्रयोगकर्ताले च्याट गर्ने गरेका छन् । यसमा डाउनलोड म्यासेन्जर भन्ने अप्सनसमेत हुन्छ । जसले म्यासेज ट्याबलाई नोटिफिकेसन केन्द्र तथा सर्टकटको रूपमा बदल्नेछ र त्यसलाई ट्याप गरेर म्यासेन्जरमा जान सकिन्छ।
अब आइफोन तथा एन्ड्रोइड प्रयोगकर्ताले एपमा च्याट बन्द हुनेबित्तिकै आफ्नो स्मार्टफोन एपमा मेसेन्जर डाउनलोड गर्नेबारे एक नयाँ सूचना प्राप्त गर्न सक्ने जनाइएको छ । फेसबुकले इमेलमार्फत पनि यसको सूचना पठाउनेछ ।
अहिलेसम्म आफूसँग भएको कम मूल्यकै मोबाइलबाट च्याटको प्रयोग गर्दै आएका नेपालीहरूका लागि भने च्याटसेवा महँगो साबित हुने देखिएको छ।
तजा खबर संगालोबाट साभार