संविधान सभाको कार्यकाल समाप्त, ‘संविधानसभा सदस्य’ हरुलाई आज भव्य बिदाई

छिरिङ्ग शेर्पा , असोज २८ – काठमाडौं । व्यवस्थापिका–संसदको कार्य अवधि आज (शनिबार) मध्यरातिदेखि समाप्त हुने भएकोले संसद सचिवालयले आज सांसदहरूको बिदाइ समारोह आयोजना गरेको छ ।
कार्यक्रमको हिसाबले संसदको बैठक शुक्रबार नै अन्त्य हुने भएपनि शनिबार भने बिदाइ समारोह सहित विशेष सम्बोधनका लागि बैठक राखिएको हो ।
बिदाइ बैठकलाई संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरु र सभामुख ओनसरी घर्तीले सम्बोधन गरेका छन् ।
आज संसद बिदाइको लागि मात्र संसद बैठक बसेकोले कुनै पनि कार्यसूची राखिएको छैन । कार्यकाल सकिएका सम्पूर्ण सांसदहरुलाई ‘संविधानसभा सदस्य’को पहिचान सहितको विशिष्ट लोगो दिइएको छ ।
कार्यकाल समाप्त भई विदाई भएका सबै संसदहरुलाई विगतका परम्परा जस्तै यसपटक पनि बाटो खर्च बापत एक महिनाको तलब उपलब्ध गराएका छन् ।
संविधानको व्यवस्था अनुसार आगामी माघ ७ गतेसम्म संसदको कार्यकाल रहेपनि त्यसअघि नै प्रतिनिधिसभाको निर्वाचन हुने भएकाले संसदको कार्यकाल शनिबारैदेखि समाप्त भएको हो ।
आजको अन्तिम बैठकपछि संसद सचिवालयले ‘संविधानसभा सदस्य’ हरुका लागि आयोजना गरेको बिशेष रात्रिभोजमा अहिले संसदहरु सरिक भएका छन् ।