दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

छिरिङ शेर्पा ,काठमाडौं। स्थानीय तह दोस्रो चरणको निर्वाचन प्रदेश नम्बर १, ५ र ७ मा बुधबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । यस निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको थियो ।
समग्रमा ७०.५ प्रतिशत मत दान भएको निर्वाचन आयोग को प्रारम्भिक अनुमान छ । सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदान भएको छ भने पूर्वी पहाडको पहाडी जिल्ला भोजपुरमा सबैभन्दा कम ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
केही घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक मतदान सम्पन्न भएको पनि आयोगले जनाएको छ ।
प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार मतदान भएको हो । जसअन्तर्गत् १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा मतदान भएको हो ।
दोस्रो चरण यस निर्वाचनमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ जना चुनावी प्रतिस्पर्धामा थिए ।
आयोगले मतगणना प्रक्रियालाई छिटो सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइने समेत बुधबार साँझ पत्रकार सम्मेलन गरी जनाएको छ ।
केही स्थानमा भने बुधबार रातिदेखि नै मतगणना गरिएको छ भने अधिकांश स्थानमा मतपेटिका संकलनका लागि समय लाग्ने भएकाले आज बिहीबार देखि मतगणना हुने आयोगले जनाएको छ ।