Logo

लिम्बू चलचित्र महोत्सव सुरू


बुधबारदेखि यहाँ तीनदिने लिम्बू चलचित्र महोत्सव सुरु भएको छ । जातीय संस्कृति संरक्षण एवं प्रवद्र्धनका लागि महोत्सव गरेको आयोजक याक्थुङ मुन्चईत चोक सयङका महासचिव विक्रम फागो वनेमले बताएका छन् ।

महोत्सवमा लिम्बू भाषाका चलचित्रहरू माराम, केवाकोक्मा, अम्लारीफूङ, थोक्ला, पेकोसामा, पुङसाम र तुन्याङ प्रदर्शन गरिने वनेमले बताए । यि चलचित्रहरू स्थानीय किराँत भवनमा प्रदर्शन गरिनेछ । महोत्सवमा लिम्बू भाषिक उत्कृष्ट चलचित्रहरू प्रदर्शन गर्नुका साथै लिम्बू चलचित्र लेखनसम्बन्धी छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रमसमेत राखिएको छ ।

होत्सवमा लिम्बू जातिका मौलिक कपडा, खाना र अन्य व्यावसायिक गरी दसवटा स्टल रहेका छन् । लिम्बूका याङवेन, किनामा, खादो, चाम्रेलगायतका खानाका परिकारहरू खान पाउने व्यवस्था गरिएको छ । महोत्सवमा नेपाल र भारतका लिम्बू कलाकारहरूको उपस्थिति रहेको छ ।

कलाकारहरूले केलाङ, हातपारे रुपाली, पालामलगायतका सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्नेछन् । २०५२ सालमा वरिष्ठ निर्देशक नवीन सुब्बाले लिम्बू भाषामा पहिलो चलचित्र ‘नुमाफुङ’ निर्माण गरेका थिए । अहिलेसम्म २७ वटा चलचित्र लिम्बू भाषामा निर्माण भएको बताइएको छ । यसअघि २०५९ सालमा पहिलो पटक पाँचथरको फिदिममा र २०६७ मा सुनसरीको धरानमा लिम्बू चलचित्र महोत्सव आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्