Logo

ट्रोल बनिन् सोनम कपुर


बलिउड नायिका सोनम कपुर फेरि एकपटक विवादमा मुछिएकी छन् । खरो प्रतिक्रिया दिएर अधिकांश समय विवादमा तानिने सोनम यतिबेला पनि सोसल मिडियाको ट्रोलमा छाएकी छन् । जब कि उनले ट्रोल्ससम्बन्धी लेखेको एक कोलमलाई भारतको हिन्दुस्तान टाइम्स दैनिकले छापेको थियो । सोही लेखमा सोनमले व्यक्त गरेको विचारलाई नै लिएर सोसल साइट युजर्सले नायिकाको धज्जी उडाएका हुन् ।

सोनमले आफ्नो लेखमा भारतीय राष्ट्रगान नै गलत लेखेपछि हाँसोको पात्र बनेकी हुन् । उक्त लेखको अन्त्यमा सोनमले भनेकी छन्, ‘म गर्वसँग आफूलाई भारतीय भन्छु । देशलाई माया गर्छु । तर पनि तपाईंहरू कतिपयलाई म देशविरोधी लाग्छु । किनकि म सवाल गर्छु । आफ्ना विचार राख्छु । बच्चामै सुनेका राष्ट्रिय गान एकपटक फेरि सम्झनुहोस्– हिन्दु, मुस्लिम, शिख, इसाई…।’ ‘जन गण मन…’ हुनुपर्नेमा सोनमको अल्प ज्ञानले गलत पंक्ति उल्लेख गरेको भन्दै केही ट्वीटेले अध्ययन गर्न सुझाएका छन् ।

राष्ट्रगान नै थाहा नहुने पनि राष्ट्रिय अवार्ड लिन जान्छन् भनेर अर्का ट्वीटले रोष व्यक्त गरेका छन् । त्यसो त प्राय: कमेन्टस् सोनमलाई हाँसोमा उडाउने गरी ट्रोलिङ गरिएका छन् । सोनमले भने आफ्ना लेखबारे दिइएका सबै प्रतिक्रियालाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै भनेकी छन्, ‘तपार्इंहरू सबैलाई धन्यवाद, जसले मेरो लेख पढेर नराम्रो नै सही यत्तिका धेरै प्रतिक्रिया दिनुभयो ।’

त्यसो त सोनमले अर्को ट्वीटमा थपेकी छन्, ‘म आत्मबोधवाली महिला हुँ । मेरा लागि कसैको सल्लाहको जरुरत पर्दैन । किनकि म आफ्नो बारेमा पूर्णत: आश्वस्त छु । ट्रोल गर्नेहरू लिंगवादी हुन् । तर म समझदार छु र आफ्नो विचार राम्रोसँग राख्न सक्ने सक्षम पनि छु ।’ ‘नीरजा’ नायिकाले आफूलाई महिलावादी, मानवाधिकारवादी र राष्ट्रिय पुरस्कार विजेतासमेत भएकीले आफूमा गर्व रहेको जिकिर गर्न पनि पछि परिनन् ।

प्रतिक्रिया दिनुहोस्