Logo

रहेनन् कलाकार प्रदिप सिंह


काठमाडौं- भारतको कलकत्तामा मृगौला रोगको उपचार गराइरहेका निर्माता तथा कलाकार प्रदिप सिंहको ५१ वर्षको उमेरमा शुक्रबार साँझ ५ बजे निधन भएको छ। तीन दशकदेखि फिल्म क्षेत्रमा क्रियाशील उनले भारतको कलकत्तास्थित कलकत्ता मेडिकल एण्ड रिसर्च सेन्टरमा अन्तिम सास फेरेका थिए।

नेपालमा उपचारका क्रममा उनले सञ्चारकर्मीलाई २०७२ सालको भूकम्पपछि मात्र आफ्नो दुवै मृगौलाले काम गर्न छाडेको कुरा थाहा भएको बताएका थिए। ‘म त्यो बेला एक फिल्मको सुटिङमा व्यस्त थिएँ। भूकम्पपछि फिल्मको सुटिङसँगै भूकम्पपीडितलाई पनि सहयोग गरिरहेको थिएँ। त्यही क्रममा एक्कासी वान्ता भएपछि स्वास्थ्य परीक्षण गराउँदा डाक्टरले दुवै मिर्गौला फेल भएको बताए,’उनले भनेका थिए।

२०४१ सालमा फिल्म ‘२५ बसन्त’बाट डेब्यु गरेका उनले हाराहारी सय फिल्ममा अभिनय गरेका थिए। ‘चिनो’, ‘दुई थोपा आँशु’, ‘देउता’, ‘रहर’, ‘मितज्यू’, ‘कोसेली’ र ‘बलिदान’लगायतका फिल्ममा अभिनय गरेका उनले ‘मितज्यू’ फिल्म निर्माण गरेका थिए। फिल्मलाई तुलसी घिमिरेले निर्देशन गरेका थिए। उनले  पछिल्लोपटक अभिनय गरेको फिल्म भने  ‘पदमिनी’ थियो।

प्रदिप सिँह चलचित्र कलाकार संघको कार्यसमितिमा दुई–दुई पटक निर्वाचित भएका थिए। संघका अध्यक्ष रामकेशर बोगटीले सिंहको शव सोमबार मात्र काठमाडौं आइपुग्ने सम्भावना रहेको बताए। ‘उहाँको शवलाई शनिबार नै ल्याउने तयारी गरिए पनि अस्पतालमा कागजात नमिलेको कारणले सोमबारसम्मलाई सारिएको छ,’ बोगटीले भने, ‘संघको सक्रियतामा सोमबार शवलाई साढे ३ बजे एयरपोर्ट ल्याएर एक घण्टासम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखेर अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लानेछौं।’

प्रतिक्रिया दिनुहोस्