‘घामपानी’मा राम्रो अभिनय गरेकी छु’

फिल्म समीक्षक दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘घामपानी’ वैशाख १ देखि अल नेपाल रिलिज हुँदैछ। अन्तरजातीय प्रेम कथामा आधारित फिल्ममा नायक दयाहाङ राई र नायिका केकी अधिकारी प्रमुख भूमिकामा छन्। फिल्म प्रमोसनको लागि हाल अष्ट्रेलियामा रहेकी नायिका केकीसँग गरेको कुराकानी :
निर्देशक र फिल्म समीक्षकको फिल्ममा अभिनय गर्दा केही भिन्नता पाइयो?
फिल्म समीक्षा गर्नु र निर्देशन गर्नु फरक कुरा हुन्। लामो समयदेखि फिल्म समीक्षामा सक्रिय दीपेन्द्र लामाले निर्देशन गरेको फिल्ममा काम गर्न पाउनु मेरा लागि ठूलो कुरा हो। फिल्म सुटिङको दौरान फिल्म समीक्षा र निर्देशकका चुनौतीबारे छलफलसमेत हुने गरेको थियो। निर्देशकको रूपमा पहिलो पटक देखिन लाग्नु भएको लामाको निर्देशन क्षमताबाट प्रभावित छु।
फिल्म ‘घामपानी’ रिलिजको तयारीमा छ। तपार्इँले फिल्म प्रमोसनलाई बेवास्ता गर्नुभएको चर्चा छ नि?
फिल्म युनिटमा नायक दयाहाङ राईले ‘घामपानी’को प्रमोसन नेपालमा र मैले अष्ट्रेलियामा फिल्मको प्रमोसन गर्ने सल्लाह गरेका हौं। केही समयअघि नै रिलिज हुनुपर्ने फिल्म ‘लभ सासा’ एक्कासी प्रिमियर गर्नुपर्ने भएकाले हल्का व्यस्त भएकी हुँ। अष्ट्रेलियाको मेल्बर्न र सिड्नीलगायत पाँच सहरमा फिल्म रिलिज हुँदैछ। यहाँ पनि ‘घामपानी’को प्रचारप्रसारमा सक्रिय छु।
यो फिल्म करियरका लागि महŒवपूर्ण छ भन्नुभएको थियो। त्यसको कारण के हो?
नेपाली फिल्म क्षेत्रमा राम्रो भनिएको समीक्षकले निर्देशन गरेको फिल्मको हिस्सा हुन पाएकी छु। त्यसबाहेक अभिनेता दयाहाङ राईसँग पहिलो पटक एकैसाथ काम गर्ने अवसर मिलेको छ। फेरि अन्तरजातीय कथालाई मनोञ्जनात्मक शैलीले प्रस्तुत गरिएको फिल्ममा काम गर्ने मौका पाएको छु। मैले अभिनय गरेको फिल्ममध्ये ‘घामपानी’मा राम्रो अभिनय देखाएकी छु। त्यसकारण पनि यो फिल्म मेरो करियरका लागि महŒवपूर्ण बनेको छ।
फिल्मको कथावस्तुलाई नेपाली समाजसँग कसरी तुलना गर्नुभएको छ?
अन्तरजातीय कथावस्तु नेपाली समाजको लागि नौलो होइन। नेपाली समाजले बिस्तारै अन्तरजातीय विवाहलाई स्वीकार्न थालिसकेको अवस्थामा फिल्मले अन्तरजातीय कथावस्तुलाई मनोञ्जनात्मक शैलीले प्रस्तुत गरेको छ।
अष्ट्रेलिया कामका लागि जानुभएको कि घुमघाम?
फिल्म ‘घामपानी’को एक निर्माता अष्ट्रेलियामा बस्ने भएकाले फिल्म प्रमोसन र रिलिजका लागि आएको हुँ। अष्ट्रेलियामा नेपाली फिल्मको व्यापार नेपालपछि सर्वाधिक हुने गरेको छ। ‘घामपानी’ अष्ट्रेलियाको विभिन्न पाँच मुख्य सहरमा रिलिज हुँदैछ।
आफूले अभिनय गरेको फिल्म हेरेपछि आफ्नो राम्रो र नराम्रो पक्षबारे कसरी मूल्याङ्कन गर्नुहुन्छ?
सुरुवादेखि अहिलेसम्म मूल्याङ्कन गर्ने हो भने अभिनयमा धेरै सुधार गरिरहेकी छु। फिल्म र म्युजिक भिडियोले सुटिङमा व्यस्त हुने हुँदा आफ्ना लागि पर्याप्त समय निकाल्ने अवसर पाइरहेकी छैन। त्यसकै कारणले हालको अवस्थामा विदेशी फिल्म हेर्नसमेत भ्याएकी छैन।
कमजोरी सुधार्न कति र कस्ता प्रयास गर्नुभएको छ?
अहिले मनोञ्जनात्मक शैलीका कथावस्तुमा काम गरिरहेकी छु। त्यसले गर्दा अभिनयमा केही सुधार आएको अनुभव गरेकी छु। यो बाहेक कथावस्तु छनोटमा ध्यान दिन थालेकी छु।
स्वदेश फर्किएपछि केही नयाँ योजना बनाउनुभएको छ कि?
नेपाल आएलगत्तै फिल्म ‘महानगर’को सुटिङमा व्यस्त हुनेछु। योसँगै केही म्युजिक भिडियोमा पनि कामको कुराकानी भइरहेको छ।