Logo

मञ्चमा दोस्रो जनआन्दोलन


२०६२/२०६३ मा १९ दिन चलेको शान्तिपूर्ण जनआन्दोलनले मुलुकमा नयाँ उथलपुथल ल्यायो । नागरिक सहभागिताले नै आन्दोलनलाई निर्णायक बिन्दुमा पुर्‍यायो । मुलुकमा लोकतन्त्र हुँदै गणतन्त्र आयो । तर, कोही युवा यस्ता थिए, जसलाई आन्दोलन छोएन । बरु घरमै धुमधुम्ती बसे, तर सडकको राजनीतिप्रति उदास रहे । राजनीतिले छुन नसकेको यस्तै तन्नेरी पुस्ताको मनोदशा समेटेर सुन्धारास्थित थिएटर मलमा नयाँ नाटक मञ्चनमा आएको छ । बिहीबारदेखि नियमित मञ्चनमा ल्याइएको नाटक ‘आन्दोलन’ को पात्र प्रदीप राजनीतिलाई बेवास्त गर्नेहरूको प्रतिनिधि पात्र हुन् ।

आन्दोलनकै परिवेश बोकेको नाटकमा सडकमा टायर बाल्ने प्रहरीको कुटाइ खाने पात्रहरू पनि छन् । सडकमा जाने र नजाने बीचको द्वन्द्वमार्फत नाटकले राजनीतिप्रति नयाँ पुस्ताको चासोलाई बहस ल्याएको छ । एक घण्टा लामो नाटकको लेखन सौरभ कार्कीले गरेका हुन् भने निर्देशन सुदाम सिकेले । नागरिकहरूमा राजनीति सचेतना हुनुपर्छ भन्ने नाटकले बताउन खोजेको छ । आफ्नो बारेमा मात्रै सोच्ने र समाजमा के भइरहेको छ भन्नेबारे वेवास्त गर्नेप्रति नाटकले व्यंग्य कसेको छ । आन्दोलनपछि अहिलेसम्म पनि मुलुकले ठोस दिशा लिन नसकिरहेको अवस्थामा नाटकले एकपटक दशकअघिको राजनीतिक परिवर्तनलाई सम्झाइदिन्छ ।

ओपन इन्डिङ गरिएको नाटकमा कवि तथा प्राज्ञ श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ कविता र कृष्णसेन ‘इच्छुक’ को ‘प्रतिबन्ध’ र मौसम बरालको कवितासमेत प्रयोग गरिएको छ । तर मञ्चमा पात्रहरूले कविता वाचन गर्दा कवितालाई न्याय गर्न सकेका भने छैनन् । ध्वनि व्यवस्थापन पनि चुस्त बन्न सकेको छैन । थिएटर बाहिर दीपेन्द्र बज्राचार्यले आन्दोलनका क्रममा खिचेका १९ वटा तस्बिरहरू झुन्डयाइएका छन् । नाटकमा रियर राई, संयोग गुरागाईं, इँगिहोपो कोइँच सुनुवार, सिजन दाहाल, मिलन कार्की, विनीता गुरुङ, सुदीप खतिवडाको अभिनय रहेको छ । दोस्रो जनआन्दोलन पनि २०६२ चैत्र २४ गतेदेखि सुरु भएर २०६३ वैशाख ११ गतेसम्म चलेको थियो र यो नाटक पनि वैशाख ११ गतेसम्म १९ दिन नै चल्नेछ

प्रतिक्रिया दिनुहोस्