Logo

रंगकर्मीको उपन्यास


रंगकर्मी टंक चौलागार्इंले साहित्यमा पनि छवि बनाएका छन् । आधा दर्जनभन्दा बढी बाल साहित्यका पुस्तक प्रकाशन गरिसकेका उनी यति बेला भने तेस्रो उपन्यास ‘टालाटुली’ सहित आएका छन् । राजधानीमा सोमबार संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, वरिष्ठ रंगकर्मी हरिहर शर्मा, सुनील पोखरेल, अनुप बराल र निबन्धकार कुमारी लामाले टंकको उपन्यास सार्वजनिक गरे ।

लामाले चौंलागाईंको लेखनले मन छुने दाबी गरिन् । तर चौंलागाईंले प्रयोग गरेका महिला पात्रहरूमा भने अत्यन्त पक्षपात भएको उनले टिप्पणी गरिन् । रंगकर्मी पोखरेलले लामाको धारणाप्रति असहमति जनाउँदै सिर्जनामा सबै कुरा ‘पोलिटिकल्ली करेक्ट’ नहुने सुनाए । उनले चौंलागाईं राम्रा रंगकर्मी भएको र लेखनमा पनि उस्तै स्वाद पाइने दाबी गरे ।

शर्माले उपन्यास पढदा प्रत्येक रंगकर्मीको कथा भनिरहेको जस्तो महसुस हुने सुनाए । सरुभक्तले शर्माकै विचारलाई समर्थन गर्दै चौंलागाईले रंगकर्मीको चरित्रलाई नाटकीय शैलीमा यथार्थ पात्रका भावना बुनेर लेखेको बताए ।

चौंलागाईंले भने उपन्यास पढेपछि पाठकले नौलो अनुभूति गर्न सके मात्रै आफूलाई सफल मान्ने बताए । ‘टालाटुली’ सांग्रिला बुक्सले छापेको हो । चौंलागाईंका यसअघि ‘जिरो कटेज’, ‘काठमान्डु गीत’ गरी दुई उपन्यास प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्