सर्ट फिल्मको अश्लील तमासा
सर्ट फिल्म कलाको सशक्त विधा हो । तर, नेपालमा थुप्रै गिरोह सर्ट फिल्मलाई अश्लील धन्दाको माध्यम बनाइरहेका छन् । भद्दा, छाडा र सस्ता यौनजन्य विषयवस्तु हुने यस्ता फिल्म युट्युबमा अपलोड गरेर पैसा कमाउन पल्केका उनीहरूलाई कला वा अभिनयसँग मतलब हुने कुरा पनि भएन । यस्ता फिल्ममा काम गर्ने महिलाको श्रम तथा यौन शोषण हुने गरेको छ । सर्ट फिल्मका नाममा नेपालमा कस्ता–कस्ता तमासा भइरहेका छन् त ? किन कसैले नियमन गरिरहेको छैन ? को–को छन् यसमा संलग्न ? अनिल यादवले केस्रा–केस्रा केलाएका छन् ।
फिल्मको नामः पैसा कि बैँसा । दृश्य छ यस्तो– गाउँबाट हिरो बन्ने सपना बोकेर शहर छिरेको एक युवक एउटा कार्यालयभित्र प्रवेश गर्छ । कार्यालयमा बसेकी युवती उसलाई ‘पैसा दिन नसके बैँसा’ दिन आग्रह गर्छे । केटा राजी हुन्छ । अनि, कार्यालयको सोफामै ती युवती र युवक बैँसको प्यास मेट्न थालिहाल्छन् । र, यत्तिकैमा चार मिनेट लामो फिल्म सकिन्छ ।
फिल्मको नामः कलेज बंक । कलेज जाँदै गरेकी आफ्नी प्रेमिकालाई युवक ‘कलेज बंक’ गर्न आग्रह गर्छ । एकछिनको आनाकानीपछि युवती मञ्जुर हुन्छे । युवक उसलाई एकान्त ठाउँको एउटा झाडीमा लिएर जान्छ । त्यसपछि उनीहरू रमाइलो गर्न थाल्छन् । ‘सामाजिक सन्देशका लागि’ भनिएको साढे सात मिनेट लामो यो फिल्म पनि रमाइलो गर्दागर्दै सकिन्छ । ‘इन्जोय नेपाल’ युट्युब च्यानलबाट अपलोड भएको यो फिल्मलाई तीन करोडभन्दा बढी पल्ट हेरिएको छ ।
फिल्मको नामः ‘ड्यामड्याम–४’ । फिल्म छायांकन भइरहेको दृश्य छ यसमा । निर्देशक केटा र केटीलाई सुझाउँदै हुन्छन्, ‘पहिला बहिनी त्यहाँ गएर लड्ने, त्यसपछि हिरोले हिराइनलाई रेप गर्ने सिन हो । त्यसपछि चाहिँ तपाईंहरूको लभ पर्छ क्या । यो अनौठो खालको लभस्टोरी हो क्या ।’ अनि निर्देशक ‘एक्सन’ भन्छ । निर्देशकले भनेझैँ दृश्य सुट हुन्छ । क्यामेराम्यानलाई सिन चित्त बुझ्दैन । ऊ निर्देशकलाई ‘मजा आएन’ भन्छ । त्यसपछि निर्देशक आफैँले ‘मजा’ गरेर देखाउँछ । अनि, युवती ‘भएन’ भन्दै आफैँ निर्देशकमाथि सवार हुन्छे । र, ‘रेप’ गर्ने यसरी हो भन्दै निर्देशकलाई उल्टै सिकाइदिन्छे । ‘कुलेन टीभी’ नामक युट्युब च्यानलबाट अपलोड भएको यो फिल्मलाई युट्युबमा ४ लाख ४१ हजारभन्दा बढी पल्ट हेरिएको छ ।
०००
‘न्यू नेपाली सर्ट फिल्म’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला सयौँको संख्यामा अश्लील दृश्य र संवादमात्र समावेश भएका यस्ता फिल्म छ्याप्छ्याप्ती भेटिन्छन् । ‘सर्ट फिल्म’को नाम दिँदै उनीहरू ‘सफ्ट पोर्न’ नै बनाइरहेका छन् । यस्ता भिडियोमा सिर्जनशीलता र अभिनय शिल्प देखिने कुरा भएन । भद्दा किस र बेड सिन नै यस्ता फिल्मका विशेषता हुन् । यसमा सहमत छन्, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई । भन्छन्, ‘नेपालमा सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न सर्ट मुभीको नाममा सर्ट पोर्न मुभी जस्ता देखिने भिडियोहरू बनाएर अपलोड गरिन्छन्, यो त ज्यादती नै भइरहेको छ । यो कुनै कला होइन । यस्ता फिल्मले अश्लीलतालाई मात्र बढावा दिन्छन् । समाजमा विकृति ल्याउने काम गरिरहेका छन् । यहाँ त सर्ट फिल्म जान्रकै बदनाम भइरहेको छ ।’
यता ‘एकादेशमा अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिभल’का प्रोग्राम डिरेक्टर समेत रहेका सर्ट फिल्म निर्देशक अविनाशविक्रम शाह व्यक्तिगत रूपमा आफूलाई त्यस्ता फिल्म मन नपर्ने बताउँछन् । ‘हरेक मेकरको फिल्म बनाउनुपछाडि एउटा ‘इन्टेन्सन’ हुन्छ,’ उनी भन्छन्, ‘जसको उद्देश्य भनेकै पैसा कमाउने मात्रै हो । उनीहरूले काम गर्ने पनि त्यसरी नै हो । एकचोटि विदेशमा बस्ने मेरो एउटा साथीले युट्युबमा नेपाली फिल्म भनेर सर्च गर्नासाथ नराम्रो, छाडा फिल्म मात्र भेटियो भनेर मलाई गुनासो ग¥यो । यसो भन्दैमा कसैलाई नबना भन्न त मिल्दैन नि । त्यो उनीहरूको स्वविवेकको कुरा हो ।’