Logo

लगातारको प्रयास पछि एकतर्फी रुपमा खुल्यो बीपी राजमार्ग, अब यात्रुलाई केही सहज हुने


२५, असोज– काठमाण्डौं । असोज ११ र १२ गतेको बाढीपहिरोले पूर्ण रुपमा बन्द गराएको सडक १४ दिन पछि बल्ल एकतर्फी रुपमा खुलेको छ । चाडबाडको मुखमा पूर्ण रुमपा बन्द भएको सडक लतारको प्रयासपछि अहिले एकतर्फी रुपमा सञ्चालनमा आएको हो । पूर्वीय नेपालसँग जोड्ने छोटो बीपी राजमार्ग १४ दिन सम्म बन्द हुदा धेरै यात्रुहरुले सास्ती खेप्नु परेको थियो । बाढी पहिरोले पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग नेपाली सेनासहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाले अहोरात्र खटिएर आजबाट एकतर्फी रुपमा खुलाउन सफल भएका हुन् । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी– ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो ।

रोशी ९ मंगलटारका स्थानीय रूपक अधिकारीका अनुसार बोक्सीकुनाको डाइभर्सन बनेपछि बीपी राजमार्गमा सवारीसाधन चल्न थालेका छन् । यही असोजको दोस्रो हप्ताको बाढीपहिरोले राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म क्षति पुर्याएपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध थियो । राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण सुरू गरिएको थियो । नेपाली सेनासहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाहरुको अग्रसरतामा शुक्रबार बिहान ८ बजेबाट राजमार्ग खुलाइएको हो । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुलेको छ । धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक प्रयोग गरिएको छ ।

दशैंको टीकाको अघिल्लो दिन सडक खुलेपछि आउजाउ गर्नेहरुलाई सुविधा हुने विश्वास छ । राजमार्गको सडक, पुल र कल्भर्टहरु बगेको ठाउँमा अस्थायी संरचना निर्माण गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडादेखि काभ्रेको सिमानासम्मको २१ किलोमिटर सडक खण्डको १४ वटा स्थानमा ८ किलोमिटर सडक पूर्णरुपमा क्षति गराएको थियो ।

इन्जिनियर योगेशका अनुसार बीपी राजमार्ग अन्तरगतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय मिटर, कटुञ्जे घुमाउनेमा पाँच सय मिटर, लास्कोट बेशीमा दुई सय मिटर, चार सय बेसीमा पाँच सय मिटर, गिम्दीबेशीमा तीन सय मिटर, खार्पाचोक बेशीमा तीन सय मिटर, नार्केमा आठ सय मिटर सडक ध्वस्त भएको थियो ।यसैगरी पिन्थलीबेशीमा चार सय मिटर, दाउन्नेमा तीन सय मिटर, मङ्गलटार बोक्सीकुनामा छ सय मिटर, चिउरीबासमा दुईसय मिटर, भ्याकुरेखोला कालढुङ्गामा एक किलोमिटर, डालाबेशीमा आठ सय मिटर, पिप्लको दुई स्थानमा गरी सात सय मिटर, बर्खेखोला तीन सय मिटर, चालिसेमा चार सय मिटर र माम्तीमा आठ सय मिटर सडक पूर्ण रूपमा क्षति भएको थियो । यी ठाउँहरुमा डाइभर्सन गरिए्को छ ।

प्रतिक्रिया दिनुहोस्