Logo

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने


असोज, १५ – काठमाण्डौं । हिन्दु नेपालीहरुको बडा दशैको अवसरमा नेपाली सेनाले आईतबार सैनिक मञ्च टुँडीखेलमा फूलपाती बढाइँ कार्यक्रम गर्ने भएको छ । सो कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने भएकी छन् । उनी नेपाली सेनाको परमाधिपति समेत हुन् ।

बढाइँ समारोहमा सैनिक हेलिकप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा सेनाले परेड प्रस्तुत गर्नाका साथै फूलपाती बढाइँ अन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ । परेडमा दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरिनेछ । कोरोना महामारीका कारण अघिल्लो वर्ष फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले साङ्केतिक रूपमा मात्र आयोजना गरिएको थियो ।

बडादसैँको सप्तमी अर्थात् फूलपातिका दिन सेनाले सैनिक मञ्चमा हर्षोल्लासका रुपमा फूलपाती बढाइँ गर्ने पहिले देखिनकै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दसैँ घरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो । टुँडिखेलको बढाइँ सकिएपछि आवश्यक मात्रामा जनशक्ति राखेर अरुलाई दसैँ बिदामा जान अनुमति दिने सेनामा चलन छ ।

सेनाको अहिले सङ्गठन प्रमुखमा प्रभुराम शर्मा रहेका छन् । फूलपाती समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत विशिष्ट महानुभावलाई आमन्त्रण गरिको छ ।

प्रतिक्रिया दिनुहोस्