Logo

अदुवाबाट मनग्य आम्दानी


कलाखबर संवाददाता,७, माघ, कावासोती । अघिल्लो वर्ष अदुवाको मूल्य नपाएर चिन्तित बनेका नवलपुरको पहाडी क्षेत्रका कृषक यस वर्ष भने उचित मूल्य पाएपछि खुशी भएका छन् । पूर्वनवलपुरको नरम, जौवारी, अर्खला, कोटथर, रकुवा, आमडाँडा, व्यागन, भारतीपुर, धौवादीलगायत ठाउँका अधिकांश कृषकको अदुवा मुख्य बाली हो । सो क्षेत्रका कृषकले अघिल्लो वर्ष एक धार्नी अदुवा रु ५० मा बिक्री गरेकामा यस वर्ष रु १५० मा बिक्री गरिरहेका छन् ।

गत वर्षभन्दा तेब्बर मूल्यमा अदुवा बिक्री गरिरहेका छौँ, कोटथरका हेमान सिङ्जालीले भन्नुभयो, “गत वर्ष सित्तैमा दिएको जस्तो भएको थियो । आम्दानीको मुख्य स्रोेतका रुपमा रहेको अदुवाले पछिल्लो केही वर्ष उचित मूल्य नपाउँदा कृषकमा मारमा परेका थिए । नरम गाउँका प्रकाश खाम्चा यस वर्ष अदुवाबाट मनग्य आम्दानी भएको बताउनुुन्छ । “मूल्य व्यापारीले तोक्छन्, उनीहरुकै अनुसार अदुवा बिक्री गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

स्थानीय व्यापारी तुलबहादुर गाहा अदुवाको मूल्यमा गिरावट हुने सम्भावना कम रहेको बताउनुहुन्छ । उहाँले यहाँबाट खरिद गरेको अदुवा दलदले, भिमाद, रामपुरलगायत बजारमा बिक्री गर्दै आउनुभएको छ । यस वर्ष उहाँले अदुवाको सुठोबाट समेत राम्रै आम्दानी गरिरहनुभएको छ । अघिल्लो वर्ष सुठो प्रतिधार्नी रु ३५० मा खरीद बिक्री भएको थियो । यस वर्ष प्रतिधार्नी रु ८०० मा बिक्री भइरहेको छ । कतिपय कृषक बिचौलियाका कारण मारमा परेका छन् ।

सो क्षेत्रमा सडक जिर्ण भएकाले कृषकलाई अदुवा ढुवानी गर्न समस्या हुने गरेको छ । “गाउँमा आउने व्यापारीले जति मूल्य भन्यो त्यतिमा दिनुपर्ने बाध्यता छ, नरमका टेकबहादुर थापाले भन्नुभयो, “ढुवानीको समस्याले अझै चाहेजस्तो मूल्य पाउन सकेका छैनौँ । नवलपुरको पहाडी क्षेत्र अदुवा, अम्रिसो र अमिलोको पकेट क्षेत्रका रुपमा चिनिन्छ । कृषि उत्पादन बढाउन तथा बजारीकरण गर्न गाउँपालिकाले योजना अघि सारेको बौदीकाली गाउँपालिका–६ का वडाध्यक्ष नेमबहादुर थापा बताउनुहुन्छ ।

सो गाउँपालिकाले वडा नं १ र ३ मा कागती, २ मा धान, ४ मा अम्रिसो, ५ मा सुन्तला र वडा नं ६ मा अदुवाको पकेट क्षेत्रको योजना बनाएको उहाँले बताउनुभयो । कृषि उत्पादन बजारीकरण गर्न खरीद केन्द्र स्थापना गर्ने योजना छ,” उहाँले भन्नुभयो । यस वर्ष नवलपुरकै बुलिङटार गाउँपालिकामा अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि सांसद विकास कोषको रु १० लाख विनियोजन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्