चलचित्र नगरी निर्माण अध्ययन का लागी भारतीय टोली गोर्खा र धादिङमा,अध्ययन पछि प्रधान मन्त्रिसँग भेट
कलाखबर संवाददाता,६,साउन,–काठमान्डौं । भारतको एक टोलीले शनिबार चलचित्र नगरी निर्माणका लागि गोरखाको पालुङटार र धादिङ सल्यानटारको स्थलगत अध्ययन गरेको छ । भारतका एक्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदासहितको टोली स्थलगत अध्ययन गर्ने नेपाल आएका थिए ।
अध्ययन पछि सो टोलीले काठमाडौँ फर्केर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट समेत गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले अध्ययन टोलीलाई धन्यवाद दिएका छन् । चलचित्र नगरी निर्माणका लागि यसअघिका सरकारले दोलखाको लाँकुरीडाँडामा अध्ययन गरेको थियो ।
अमेरिकाको हलिउड र भारतको बम्बई चलचित्र नगरीका रुपमा चिनिन्छन् । नेपाली कलाकारसमेतको उपस्थितिमा भएको भेटमा प्रधानमन्त्री ओलीले भारतीय कलाकार प्रदाले नेपाल–भारत सम्बन्धका लागि सांस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएको बताए । जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष चन्द्राले पालुङटारका नदीदेखि पहाडसम्मको सुन्दर परिवेशले आफूलाई आकर्षित र मोहित बनाएको बताए ।
भारतीय राजनीतिकर्मी तथा राज्यसभा सदस्य सिंहले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली नारा सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । त्यसक्रम्मा त्यो टोलीलाई नेपालका वरिष्ठ कलाकार नीर शाहले नेपाली चलचित्र उद्योगको समग्र अवस्थाबारे अवगत गराएका थिए ।