Logo

दीपेन्द्र शाह र देवयानीको प्रेमकथामा आधारित चलचित्र बन्ने


काठमाण्डौ। विश्वकै छोटो समयका लागि राजा भएका दीपेन्द्र शाह र देवयानी राणाको प्रेमकथामा आधारित रहि नेपाली चलचित्र बन्ने भएको छ । राजधानीमा आयोजित चलचित्र घोषणा कार्यक्रममा नायक प्रदीप खड्का शाहको भेषमा देखिए ।

एक समय दीपेन्द्र र देवयानीको प्रेमले राजदरवारमा समेत ठूलो खैलाबैला मच्चिएको थियो । विश्वकै छोटो समयका लागि राजा भएका दीपेन्द्रलाई नेपालको १३ औं राजा घोषणा गरिएको थियो । तर, राजा घोषणा गरिएको तेस्रो दिनमा नै उनलाई मृत घोषणा गरियो । योसँग उनको प्रेमकथाको भित्री पाटो पनि बाहिर आउन पाएन । विभिन्न पुस्तक र लेखहरुमा राजा दीपेन्द्र र देवयानीको प्रेम प्रशंगलाई धेरथोर कोट्याइएको छ ।
विवेक कुमार शाहद्वारा लिखित पुस्तक ‘मैले लेखेको दरवार’ मा कोरिएको राजा दीपेन्द्र र देवयानी राणाको प्रेमकथाको पाटोमा आधारित भएर फिल्म ‘दीपेन्द्र सरकार’ बन्ने लागेको हो । ‘चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २’ निर्माण गरेको आशुषेन फिल्मस्ले यो चलचित्र निर्माण गर्न लागेको हो । चलचित्रमा ‘प्रेमगीत’ नायक प्रदीप खड्काले राजा दीपेन्द्रको भूमिका निर्वाह गर्नेछन् । यो चलचित्रको बजेट ५ करोड ५० लाख रहने बताइएको छ ।

यो चलचित्रको प्रदर्शन मिति पनि वि.सं २०७५ को जेठ १९ गतेलाई तोकिएको छ, जुन दिन राजदरबार हत्याकाण्ड भएको थियो । नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने यो चलचित्रका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिने बताईएको छ ।
राजा वीरेन्द्र र रानी ऐश्वर्याका जेठा छोरा दीपेन्द्रको ३ जुन, २००१ मा २९ बर्षको उमेरमा निधन भएको थियो । त्यस्तै, राप्रपाका नेता अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी हुन् देवयानी ।

प्रतिक्रिया दिनुहोस्