Logo

अन्तर्राष्ट्रिय सगरमाथा दिवस बिशेष कार्यक्रम गरि मनाईयो


छिरिङ शेर्पा, काठमाण्डौं । १० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपाल पर्यटन बोर्डको प्राङ्गण भृकुटीमण्डप, काठमाण्डौंमा एक बिशेष कार्यक्रम गरि मनाईयो । उक्त कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन माननिय राज्यमन्त्री सुमित्रा थरुनी प्रमूख अथितीको रुपमा उपस्थित हुनुहुन्थ्यो भने नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पा लगाएत पर्वतीय पर्यटनमा आवद्ध थुपै्र पर्यटन व्यवसायी एवं पर्वतारोहिहरुको उल्लेख्य सहभागिता रह्यो ।
यसै दिवसको अवसरमा पर्वतीय पर्यटनमा महत्वपूर्ण योगदान पू¥याउनु हुने व्यक्तित्वहरुलाई नेपाल पर्वतारोहण संघले पुरस्कार तथा पदकले सम्मान गरेको छ । सो अवसरमा संघले हरेकवर्ष प्रदान गर्दै आईरहेको डा. हर्क गुरुङ पर्वतीय पुरस्कार जापानी नागरिक केनुगु गुईचिलाई र कुमार खड्ग बिक्रम साहासिक पुरस्कार अमेरिकी नागरिक रिचार्ड वेगनलाई प्रदान गरेको छ । त्यसैगरि सगरमाथामा यसवर्ष आरोहण मार्ग निर्माण गरेर सगरमाथा आरोहण सहज बनाई पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका आठ जना पर्वतारोहि पेशाकर्मीहरुलाई जनहि रु.२५,००० नगद द्वारा पुरस्कृत गरियो । पुरस्कार तथा प्रमाण पत्र कार्यक्रमका प्रमूख अथिती माननिय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा थरुनीले प्रदान गर्नुभएको हो । सो कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरुको पनि प्रदर्शन गरिएको छ ।

यसै अवसर पारेर “पर्यटनका लागि दौड” भन्ने नारा सहित नेपाल ट्रेकिङ एजेन्सिहरुको छाता संगठन टानले राजधानीमा खुल्ला दौड कार्यक्रमको आयोजना गरेको छ । दौडमा उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसकै अवसरमा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारिको सम्झनामा सगरमाथा आधारशिविर देखि नाम्चे बजारसम्म करिव ४२ किलोमिटरको १५ औं तेन्जिङ हिलारी एभरेष्ट म्याराथन दौड सम्पन्न भएको छ । हिमालय एक्स्पिडिसन एण्ड एडभेन्चर स्पोर्टस् नेपालले साहसी खेल पर्यटनका रुपमा हरेक बर्ष प्रतियोगीता आयोजना गर्दै आएको छ । आजको यस प्रतियोगितामा पुरुषतर्फ सोलुखुम्बु गुदेलका समुन कुलुङ प्रथम, नेपाली सेनाका सुरेन्द्र बस्नेत दोश्रो र वेद बहादुर सुनुवार तेश्रो भए भने महिला तर्फ सोलुखुम्बु बुङकी निरकला कुलुङ प्रथम, सोलुखुम्बु जुभिङकी पुर्णिमा राई दोश्रो तथा फोर्चेकी दावा डोमा शेर्पा तेश्रो भईन ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा शाहासिक व्यक्तिहरु नेपालका सरदार तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका सर एडमण्ड हिलारि सन् १९५३ मे २९ तारिखका दिन सर्वप्रथम पाईला टेक्न सफल थिए । हुन त यस भन्दा अघि पनि सगरमाथाको चुचुरोमा पाईला राख्ने प्रयासहरु नभएका होईनन् तर आज भन्दा ६४ वर्ष अगाडी यस धर्तीको शिर संसारमै सर्वप्रथम चुम्ने सौभाग्य ऐतिहाशिक एवं अद्धितिय उनै दुई व्यक्तित्वहरु सरदार तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्यान्डका सर एडमण्ड हिलारिले प्राप्त गरे ।

सगरमाथा आरोहणको यसै सफल यस ऐतिहासिक दिनको सम्झना एवं सम्मान गर्दै हरेक वर्षको मे २९ को दिनलाई सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्