Logo

२०७३ का उत्कृष्ट अभिनेता


८८ फिल्म दिएर २०७३ ले बिदा लिँदै छ । तिनै फिल्मबाट केही राम्रा कलाकार उदाएका छन् वा झन् चम्किएका छन् । फिल्ममा निर्वाह गरेको भूमिका, चरित्र र देखाएको अभिनयका कारण उत्कृष्ट अभिनेताको पहिलो हकदार कोही छ भने ती हुन्– विपिन कार्की नै हुन् ।

२०७३ मा विपिनका तीन फिल्म मात्रै आए– ‘जात्रा’, ‘लुट २’ र ‘कालो पोथी’ । त्यसमा पनि ‘कालो पोथी’ मा जँडयाहा चरित्रमा देखिएका उनलाई त प्राय:ले चरित्रमा मात्रै चिने । विपिन भनेर पनि ठम्याउन सकेनन् । चरित्रअनुसार मानसिक र शारीरिक दुवै हिसाबले ढल्न सक्ने खुबी भएका यी अभिनेता ‘लुट २’ मा पित्तले बनेर देखा परे । हाकु काले र गोफ्लेको ग्याङको भीडमा पनि हराएनन् ।

 

अघिल्लो वर्ष राम्रै चलेका धेरै नायकले यस वर्ष हावा खाए । कामले भन्दा पनि नामकै ब्याज खाएर धानिए । अनमोल केसीको ‘गाजलु’ त आयो तर केन्द्रीय भूमिकामा रहेकी सृष्टि श्रेष्ठदेखि सहायक भूमिकामा रहेका मेनुका प्रधान, गौरव पहारी वा सलोन बस्नेत हाबी देखिए । स्टारडमकै दमले मात्रै धानिए अनमोल । तर यसपटक स्टारडम पनि खस्कियो, निखिल उप्रेतीको । उसो त अभिनयमा उनी स्वयं पनि आफूलाई कमजोर मान्छन् । आर्यन सिग्देल वा जीवन लुइँटेल पनि प्रभावी देखिएनन् । आर्यनले ‘होमवर्क’ मा वृद्धको भूमिका निर्वाह गरे पनि चरित्र चित्रणमा उनकै होमवर्क नपुगेको ठान्दिए दर्शकले ।
यस वर्ष सर्वाधिक धेरै सात फिल्ममा देखिए दयाहाङ राई । तर, उनलाई अभिनेताका रूपमा सुरक्षित पार्ने फिल्म ‘सेतो सूर्य’ देखियो । निर्देशक भट्टराई दयाहाङको अभिनय‘सेतो सूर्य’ बाहेकमा स्टेरियोटाइप देखिएको बताउँछन् ।

व्यावसायिक रूपमा खासै सफल नदेखिएका सौगात अभिनय र चरित्रका हिसाबले भने दर्शकमा ताजा दिने प्रयासमा रहे ।
सोलो हिरोका रूपमा ‘गाँठो’ लाई सफलता दिन नसके पनि नाजिर हुसैन अभिनयका कारण उत्कृष्ट चौथो स्थानमा छन् । उनले ‘जंगे’ र ‘वीर विक्रम’ मा सहायक भूमिकामा रहेरै पनि नोटिस हुने गरी काम देखाए । पाँचौंमा भने अर्पण थापा परेका छन् । तर ‘डाइङ क्यान्डल’ को मुकुन्दको चरित्रबाहेक उनी पनि स्टेरियोटाइपकै सिकार देखिन्छन् ।

त्यसो त २०७३ ले थुप्रै सम्भावना बोकेका बालकलाकार भित्र्यायो ।
तिनमा ‘कालो पोथी’ का खडाराज नेपाली र शुक्रराज रोकाया, ‘सेतो सूर्य’ का अमृत परियार र सुमी मल्ल, ‘डाइङ क्यान्डल’ का लाक्पासिंगी तामाङ, ‘छाया’ का साइब्रत आचार्य फिल्मका अन्य कलाकारभन्दा बढी प्रिय बने । निर्देशक मनोज पण्डित यिनीहरूलाई स्पेसल मेन्सनका लायक ठान्छन् ।

प्रतिक्रिया दिनुहोस्