आई लभ यू नै नभनी लभ पर्यो

वर्षा राउत : आज हामी माया–पिरतीका गफ गरौं ल । तिमीलाई थाहा छ, तिमी र मबीच प्रेमका कुरै हुँदैनन् । ल भन त तिम्रो र मेरो पहिलो भेट कहाँ भएको थियो ?
संजोग कोइराला : पहिलो भेट ? हाम्रो पहिलो भेट झन्डै पाँच वर्षअघि अनामनगरको मण्डला थिएटरमा
भएको थियो ।
वर्षा : चलचित्र ‘सरी ल’ को अडिसनका क्रममा हाम्रो पहिलो भेट भएको होइन ?
संजोग : अडिसनका लागि तिमी मभन्दा पहिले पुगिसकेकी थियौं ।
वर्षा : हो, त्यो दिन तिमीसँग मेरो भेट हुँदैछ भनेर मैले थाहा पाइसकेकी थिएँ । निर्देशक ऋषि लामिछानेले संजोग कोइराला तिम्रो जोडी हो भन्नुभएको थियो । यो केटा कस्तो रहेछ, ल हेरौं न त भनेर म तिम्रो प्रतिक्षा गरिरहेकी थिएँ । तिमी नीलो रंगको आर वान फाइभ बाइकमा सररर..आएको म हेरिरहेकी थिएँ ।
संजोग : ए….तिमीले मान्छे नहरेर पहिले बाइक पो हेरेको ? केटीहरू कस्ता हुन्छन् हेर, मान्छे हेर्नुभन्दा पहिले उसले चढ्ने बाइक पो हेर्दा रहेछन् ?
वर्षा : नकराऊ न ।
संजोग : त्यसो भए म त्यो दिन साइकलमा लुखुर–लुखुर आएको भए त तिमीले हेर्दै नहेर्ने पो रहेछौ हैन ?
वर्षा : त्यस्तो होइन । त्यो दिन हामीबीच गफगाफ नै भएन, देखा–देख मात्र भयो ।
संजोग : मेरो अडिसन पहिले भएर म बाहिर निस्कँदा तिमी नै मसँग बोलेको होइन ? तपाईंले त कस्तो राम्रोसँग अडिसन दिनुभयो, मलाई त बोल्नै आउँदैन, कसरी गर्ने होला ? भनेर तिमीले मसँग सोधेको हैन ?
वर्षा : हा हा….कस्तो याद गरेको ? हुन त म नै तिमीसँग बोल्न पुगेकी हुँ । तिम्रो र मेरो जोडी बन्ने कुरा मलाई थाहा थियो, त्यसैले म नै पहिले बोल्न अग्रसर भएकी ।
संजोग : मलाई त थाहा थिएन । यो चिन्दै नचिनेकी नखरमाउली कति बोलिरहन्छे भनेर म त छक्क
परिरहेको थिएँ ।
वर्षा : कत्ति छुच्चो क्या तिमी …त्यति धेरै त बोलेकी थिइनँ है ।
संजोग : अडिसनभन्दा अघि हामीलाई सामूहिक गेम खेलाइएको थियो, त्यति बेला पनि तिमी रत्तिभर सिरियस थिइनौ, हाँसेको हास्यै मात्र गरिरहेकी थियौ ।