Logo

दशै बजार सुरु,आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला


२०,असोज –काठमाण्डौं । आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरिएको छ । खसीबोका र च्याङ्ग्रा शुक्रबार हिमाली जिल्लाबाट काठमाण्डौं आएसँगै आज आईतबारबाट बिक्रि गरिने भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको जनाएको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा बिक्री खुला गरेको हो ।

यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । खाद्यले २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको र अरू ल्याउने क्रम जारी रहेको थापथली स्थिति प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख ज्ञानु थापाले बताइन् । चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ ।

कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ । निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन । दसैँमा ठुलो संख्यामा खसीबोकाको खपत हुने हुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन ।

प्रतिक्रिया दिनुहोस्