बेवारिसे अवस्थामा कैलालीमा ४ सय गाईगोरुका कंकाल फेला

१०, फागुन – धनगढी । कैलालीको गोदावरी नगरपालिका–९ को लक्ष्मी महिला सामुदायिक वनमा ४ सय गाईगोरुका कंकाल यत्रतत्र छरिएको अवस्थामा भेटिएका छन् । सामुदायिक वनभित्रको कान्जी हाउस वरिपरि यत्रतत्र छरिएको अवस्थामा चार सय बढी गाईगोरुका कंकाल फेला परेका हुन् । तत्कालिन वडाअध्यक्ष रामलाल रानाको रहोबरमा गत साउन २ गते बसेको बैठकले स्थानीयको खेतीपाती नोक्सान गरेको भन्दै गाईगोरुलाई लक्ष्मी महिला सामुदायिक वनभित्र राख्ने निर्णय गरेको थियो ।
सो सामुदायिक वनभित्र तारबार लगाएर राखिएका पाँच सयभन्दा बढी चौपायामध्ये अहिले आहारा अभावका कारण चार सय भन्दा बढी गाईगोरु मरेको अवस्थामा फेला परेका हुन् । सामुदायिक वनमा तारबार गरेर छाडा पशुचौपाया राख्ने र हरेक घरबाट महिनामा एक सय रुपैयाँ उठाएर हेरालु राख्ने निर्णय भएको थियो । वडाध्यक्ष रामलाल रानाले छाडा पशुचौयापाका लागि वडामा बजेट नभएको बताएपछि हरेक घरबाट एक सय रुपैयाँ संकलन गरेर ६ जना हेरालुसमेत राखिएको जानकारी सामुदायिक वनकी अध्यक्ष अनिता चौधरीले जानकारी दिइन् ।
मासिक आठ हजार तलब दिने गरी आठ जना हेरालु राखेका पनि उहाले बताईन् । ती पशुलाई चिसोमा बस्ने ओत र खाना नभएपछि मर्न थालेको उहाले जानकारी दिइन् । अहिले चार सय बढी चौपाया मरेको खबर पाएपछि वडाध्यक्ष राना आत्तिएका छन् । उनले आफूलाई पशुचौपाया मरेका बारे कसैले जानकारी नगराएको बताए । भदौदेखि मर्न थालेका चौपाया माघसम्म निरन्तर मर्ने क्रम नरोकिँदा पनि वडाध्यक्ष रानाले आफूलाई कुनै जानकारी नै नभएको बताए ।
हेरालुले गाई मरिरहेको खबर गाउँभरि फैलाएको स्थानीय बताउँछन् । ‘भदौदेखि नै कान्जी हाउसका गाईहरू मर्न थालेका छन् भन्ने सुनेको हुँ’, स्थानीय ७३ वर्षका डिल्लीसिंह खत्रीले भने । वडा कार्यालयको लापरवाहीकै कारण पशु चौपाया मरेको स्थानीयहरुले आरोप लगाएका छन् । वडा कार्यालयका पशु स्वास्थ्यकर्मी रोशन पन्तले पनि कान्जी हाउसका पशु मरेको कुरा आफूलाई थाहा नभएको बताए ।
वडा कार्यालयको भवनमै रहेको पशुपन्छी उपचार केन्द्रबाट कान्जीहाउस बढीमा पाँच सय मिटरको दूरीमा छ । स्थानीय विराज विष्टले कान्जी हाउसमा पशुचौपाया हुलेर राखेको र तिनको उपचार, खाना र ओतको ब्यवस्था नगरिएकाले गौहत्या भएको आरोप लगाए ।