पहाडी भूभागमा चट्याङ्गसहित वर्षा हुने
१०, फागुन – काठमाडौँ । आज देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षा हुने भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण मौसममा परिवर्तन हुने भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको पनि महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
काठमाडौँमा पनि दिउँसो छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । अहिले बिहान केही स्थानहरुमा घाम लागेपनि दिउसो मध्यान्हबाट मौसममा बदली भएको छ । आज राति कोशी, मधेस र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।