पत्रकार कुटेको आरोपमा ५ जना पक्राउ
फागुन,१–सोलुखुम्बु,सल्लेरी । सोलुखुम्बुको सल्लेरीमा पत्रकारलाई कुटेको आरोपमा पाँच जना परेका छन् । सोलुदुधकुण्ड नगरपालिका–५ का २८ वर्षीय राम तामाङ, सोही वडाका २६ वर्षीय सोनाम शेर्पा, २७ वर्षीय मङ्गल तामाङ, २८ वर्षीय लक्ष्मण तामाङ र ३२ वर्षीय सुब्बा तामाङ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुधकोशी खबरका रमन वनमाथि गत शनिबार राति सल्लेरीस्थित निजको कोठा पुगेर उनीहरुले हातपात गरेको प्रहरी स्रोतले बताएको छ ।
उनीहरुलाई आज सल्लेरीको विभिन्न स्थानबाट पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अनिलकुमार मिश्रले जानकारी दिए । सञ्चार माध्यममा भिडियो सामग्री प्रसारण गरेकै कारण आफूमाथि हातपात गरेको पत्रकार वनले बताए । सोलुदुधकुण्ड–५ का वडाध्यक्ष मिङमार तामाङसहित राति आफ्नो कोठामा पुगेका व्यक्तिहरूले आक्रमण गरी भिडियो मेटाउन धम्की दिँदै आफूलाई कुटपिट गरेको उनको भनाइ छ ।
सो घटनापछि हातपात गर्ने विरुद्ध पत्रकार वनले अभद्र व्यवहार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिएका थिए । तामाङ समुदायको ल्होछार पर्व मनाउने क्रममा शनिबार सल्लेरीस्थित एक होटलमा स्थानीय युवा मदिरा सेवन गरेर झगडा गरेका थिए । उक्त झगडाको भिडियो दुधकोशी खबरले सम्प्रेषण गरेको थियो ।
यसैलाई मुख्य बिषय बनाएर आफूमाथी आक्रमण भएको बनले बताएको छ । यसैबीच, “सुरुमा वडाध्यक्ष तामाङले पनि पत्रकार वनमाथि हातपात गरेको आरोप लागेको थियो । तर वडाध्यक्ष तामाङले आफूले हातपात गरेको नभई सहजीकरणका लागि घटनास्थल पुगेकाले प्रहरीलाई बताएपछि अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।