Logo

बैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीन जना पक्राउ


पौष,२८–काठमाण्डौं । बैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीको लागि अमेरिका, पोर्चुगल र टर्की पठाउने प्रलोभनमा पारी ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेर कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई जिम्मा लगाएको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ भंगाल चपली काठमाडौंकी ३४ वर्षीया बेन्जु महत, चौबिसे गाउँपालिका–६ घर भई हाल कीर्तिपुर बस्ने ४८ वर्षीया उर्मिला चेम्जोङ र बर्दघाट नगरपालिका–१५ नवलपरासी (बर्दघाट सुस्तापूर्व) का २६ वर्षीय महेश तामाङ रहेका छन् । वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा पक्राउ गर्न पत्राचार भएपछि अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेर बुझाएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ परेकी महतविरुद्ध अमरबहादुर पुनले आफूलाई मासिक तलब चार लाख पाइने गरी अमेरिका पठाइदिन्छु भन्दै २३ लाख ५० हजार रकम लिएर सम्पर्कविहीन भएको आरोप लगाएका छन् । प्रहरीका अनुसार पुनलाई महतले अमेरिकाको प्रतिष्ठित कम्पनीमा मासिक चार लाख तलब पाउनेगरी रोजगारीका लागि पठाइदिने आश्वासन दिएकी थिइन् ।

यस्तै अर्को घटनामा पक्राउ परेकी चेम्जोङले संगत थापासहितका दुई जनासँग पोर्चुगल पठाउने भन्दै १० लाख ५० हजार लिई सम्पर्कविहीन भएको आरोप छ । पोर्चुगलमा सवारी चालकको काम पाइने र मासिक तलब एक लाख पाइने भन्दै प्रलोभनमा पारेर उक्त रकम लिएको पीडितहरूको आरोप छ ।

यस्तै अको घटनामा तामाङले टर्की पठाइदिने भन्दै रमेश थापासहित तीन जनासँग पटक–पटक गरी पाँच लाख ५० हजार लिएर ठगी गरेको आरोप छ । अहिले तीन जनामाथी अनुसन्धान भई रहेको छ । जसमा प्रति व्यक्ति चार लाख ५० हजार लाग्ने र टर्की पुगेपछि मासिक एक लाख तलब आउने जागिर पाइने आश्वासन दिएको पीडितले जाहेरी दिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्