३ करोड ८२ लाख ठगेको आरोपमा मेनपावर कम्पनी कारबाही

असोज ५,शुक्रबार–काठमाण्डौं । बैदेशिक रोजगारीमा पठाउने बाहानामा ३ करोड ८२ लाख ठगेको आरोपमा मेनपावर कम्पनी कारबाहीमा परेका छन् । कारबाही पर्नेमा ‘विस एचआर सोलुसन मेनपावर कम्पनी रहेका छन् । वैदेशिक रोजगार विभागले काठमाडौंको सिनामङ्गलमा रहेको ‘विस एचआर सोलुसन’ प्रालिको इजाजतपत्र (लाइसेन्स नं १४२५÷०७४÷०७५) खारेज गरेको छ ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम उक्त प्रालिको लाइसेन्स खारेज गरिएको र सोही दफाबमोजिम मुद्दासमेत दायर गरिएको जनाएको छ । उक्त मेनपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फणिन्द्र कोइराला समेतको मिलेमतोमा सरिता भुजेललगायत ४३ जनालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३ करोड ८२ लाख २८ हजार ४९८ रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकमसमेत फिर्ता नगरेको पाइएपछि लाइसेन्स खारेज गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।
उनका अनुसार मेनपावरको लाइसेन्स खारेज गर्दै वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दासमेत दायर गरिएको छ । उक्त रकम बिगो र सोको ५० प्रतिशतले हुन आउने हर्जानासमेत निज प्रतिवादीहरूबाट जाहेरीवाला पीडितलाई दिलाई भराई पाउन माग दाबी लिई विभागले वैदेशिक रोजगार न्यायाधीकरणसमक्ष अभियोगपत्र दायर गरिएको निर्देशक एवं सूचना अधिकारी उप्रेतीले बताए ।