ठगी गर्ने दुई मेनपावर कम्पनीको लाइसेन्स खारेज

साउन २४–काठमाडौँ । ठगी गर्ने दुई मेनपावर कम्पनीको लाइसेन्स बैदेशिक रोजगार विभागले खारेज गरेको छ । ठगी गरेपछि पनि पीडितलाई क्षतिपूर्ति नदिएपछि २ वटा मेनपावर व्यवसायीको इजाजत पत्र (लाइसेन्स) विभागले खारेज गरेको हो । वैदेशिक रोजगारीमा पठाउने श्रमिकलाई ठगी गर्दै क्षतिपूर्ति नदिने डि स्क्वायर र डिलक्स एचआर मेनपावर दुई वटा मेनपावर कम्पनी कारवाहीमा परेको हो ।
विभागका महानिर्देशक मदन दाहालले पीडितलाई क्षतिपूर्ति नदिने डि स्क्वायर र डिलक्स एचआर मेनपावरको इजाजतपत्र नै रद्ध गरिएको जानकारी दिए । दुवै कम्पनीले पीडितहरूलाई करोडौं रुपैयाँ बराबरको क्षतिपूर्ति नदिएपछि इजाजतपत्र नै खारेज गरिएको महानिर्देशक दाहालले बताए । डि स्क्वायरले दुई जना पीडितलाई क्षतिपूर्ति दिन आनाकानी गर्दै आएका थिए ।
त्यसपछि महानिर्देशक दाहालले वैदेशिक रोजगार ऐन २०६४ को दफा ५१ अनुसार इजाजतपत्र रद्ध गर्ने निर्णय गरेका हुन् । वैदेशिक रोजगार ऐन विपरीतको कार्य गरेको पाइएमा विभागले मेनपावर व्यवसायीको इजाजतपत्र खारेज गर्ने व्यवस्था रहेको छ । सोही आधारमा निर्णय गरिएको महानिर्देशक दाहालले बताए । त्यस्तै १५ जनाभन्दा बढी पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै डिलक्सको समेत इजाजतपत्र खारेज गरिएको हो ।
बुधबार महानिर्देशक दाहालले इजाजतपत्र खारेज गर्ने निर्णय गरेका हुन् । दाहाल महानिर्देशक भएर आएपछि ऐन विपरीतका कार्य गर्ने मेनपावर व्यवसायीमाथि कडा रूपमा प्रस्तुत हुँदै आएका छन् । उनले उनीहरूलाई पटक पटक ऐन विपरीतको कार्य नगर्न चेतावनी दिँदै आएपनि क्षतिपूर्ति दिन लामो समयदेखि आनाकानी गर्दै आएपछि इजाजतपत्र खारेज गरिएको बताए ।