आफ्नो पराजयलाई स्वीकार गर्दै, गोविन्द भट्टराईले दिए स्वर्णिम वाग्लेलाई बधाइ
वैशाख,१२ मंगलबार– काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् । साथै उनले विकासको अपेक्षा गरेर आफूलाई मत दिएका मतदाताप्रतिको अभिभारा पनि स्वर्णिममाथि आएको बताएका छन् ।
लोकतन्त्रमा हारजीत हुन्छ भन्दै उनले आफ्नो पराजयलाई स्वीकार गरेका छन् । आज बिहान सामाजिक सन्जालमार्फत् डा. वाग्लेलाई बधाई दिँदै भट्टराईले भनेका छन्, ‘मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो ।
तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा वाग्लेले ३४ हजार ९१८ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी भट्टराईले २० हजार १२२ मत पाएका छन् ।
भट्टराईले मतदाताको विकासका चाहना पूरा गर्ने अभियानमा स्वर्णिमले चाहेमा रचनात्मक सहयोग र खबरदारीपूर्ण साथ रहने बताएका छन् । उनले स्वर्णिमलाई राजनीतिक यात्रामा अब्बल सावित हुन शुभकामना पनि दिएका छन् ।